नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाटको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजनाका लागि सम्झौता भएको छ।
लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी जेभीबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता भएको हो।
सम्झौताअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ ।
परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ ।
समझदारीपत्रमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र प्रतिवेदन तयार पारी बोर्डमा बुझाउने छ।