त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय घट्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन समय २१ बाट घटाएर १८ घण्टामा सीमित पार्ने तयारी भएको छ।
२०७५ साल जेठदेखि प्राधिकरणले विमानस्थल सञ्चालन समय बढाएर २१ घण्टा बनाएको थियो। तर पछिल्लो समय हवाइ यातायातमा राम्रो माग नदेखिएपछि सञ्चालन समय घटाउने निष्कर्षमा प्राधिकरण पुगेको हो।
लकडाउनपछि खुलेको विमानस्थलमा उडान संख्या बढ्न नसकेपछि विमानस्थल सञ्चालन समय बढी हुँदा खर्चमात्र बढेको प्राधिकरणको निष्कर्ष छ।
'संसारका धेरै विमानस्थलहरुले क्षमता घटाएका छन्। टर्मिनलहरु सबै खोलेका छैनन्। जबसम्म माग बढ्दैन तबसम्म क्षमता पनि सिमित बनाउँदा खर्च पनि कम हुन्छ' प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने।
अबदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ। राति १ बजेपछि हुने नेपाल एयरलाइन्सको जापान उडान पनि अब प्रभावित हुने भएको छ।
विमानस्थल सञ्चालन समय घटाउने निर्णय गरेपछि प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान तालिका मिलाउन पत्राचार गरिसकेको छ।