संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ।
अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म पुग्ने ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे। भङहाबाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो।
परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठूलो फड्को मार्ने विश्वास लिइएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए। उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे।