नेपाल चेम्बर अफ कमर्श र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुगेको अवसरमा दुबै देशका अग्रणी संस्थाबीच व्यापारिक सम्बन्ध कायम हुने लक्ष्यसहित सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
दुबै देशका पदाधिकारी, इजराइलस्थित नेपालका राजदूत डा. अञ्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गको उपस्थितिमा भर्चुअल मिटिङद्वारा समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ।
समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र इजरायल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरे।
समझदारीबाट नेपाल र इजरायलबीच आर्थिक सम्बन्ध सुदृढ हुने विश्वास लिइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।
हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ।
समझदारीमा इजरायलबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, दुई पक्षीय तथा बहुपक्षीय व्यापार र लगानीसँग सम्बन्धित साझा स्वार्थहरूको प्रवर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान-प्रदान गर्ने लगायत बुँदा समावेश छन्।
सो अवसरमा इजरायलका लागि नेपाली राजदूत डा. शाक्यले नेपाल र इजरायलका निजी क्षेत्रबीच सम्बन्ध विस्तारका लागि दुबै चेम्बरको सोझै सम्पर्क कायम राख्न समझदारी भएको बताए।
उनले इजरायलमा उत्पादित चियाको बजार क्रमश: विस्तार हुँदै गएकाले नेपाली उत्पादनका लागि इजरायल राम्रो गन्तव्य हुने बताए।
नेपालका लागि इजरायलका राजदूत वर्गरले नेपाल पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताए। उनले इजरायली पर्यटकको लागि नेपाल साहसिक पर्यटनको गन्तव्य भएको बताए।
इजरायल-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टिन राइसले समझदारी पत्रद्वारा नेपाल-इजरायलबीच आर्थिक सम्बन्ध बढाउने उपयुक्त मञ्च भएको बताए। कोभिडपछि नेपाल र इजरायलबीच व्यावसायिक प्रतिनिधिमण्डलको आदान-प्रदान हुने विश्वास उनले लिए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले विश्वको सबैभन्दा अग्लो सगरमाथा शिखर नेपाल रहेको र सबैभन्दा होचो मृतसागर इजरायल समीप भएको उल्लेख गर्दै दुवै मुलुकमा प्रचुर मात्रामा पर्यटकीय गन्तव्यस्थल रहेको बताए।
उनले इजरायलले सूचना तथा प्रविधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिनसक्ने बताए। उनले नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकाले हाइड्रो पावर क्षेत्रमा लगानीको लागि आह्वान गरे।