महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिनिधि नपठाउँदा काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयमा हुने सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा स्थगित भएको छ।
प्रतिनिधि नपठाउनेबारे महाशाखाले आजै पत्र पठाएको यातायात व्यवस्था कार्यालय चाबहिलले जानकारी दिएकाे छ।
कार्यालयले सूचना जारी गर्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरी नखटाएको कारण अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यस कार्यालयबाट संचालन हुने ती परीक्षा स्थगित गरिएको बताएको छ।
लिखित तथा प्रयोगात्मक परीक्षामा खटिने ट्राफिक प्रहरीलाई तालिम दिनुपर्ने भएकोले आज प्रतिनिधि पठाउन नसकिएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए।
‘हामीले उहाँहरूलाई अझ इमानदार, पारदर्शी हुन र सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सिकाउन भनेर तालिम राखेका थियौं। त्यसकारण आज प्रतिनिधि पठाउन नसकिएको हो,’ उनले सेतोपाटीसँग भने।
मंगलबारबाट निरन्तर परीक्षा हुने उनले स्पष्ट पारे। कोरोना भइरस महामारीका कारण बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन गत पुस १४ गते ९ महिनापछि खुला भएको थियो।
आवेदन फारम खुले पनि सेवाग्राहीले सजिलै भर्न भने सकेका छैनन्। लामोसमय पछि आवेदन खुलेको कारण धेरैले एकैपटक भर्ने हुँदा केही समस्या आएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए।
कसरी भर्ने फारम?
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।
अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने। पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।