पठाओको कार्यालयमा तोडफोड गरेपछि पक्राउ परेका पाँच जना राइडर धरौटीमा छुटेका छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार धरौटीमा रिहा गरेको हो।
पक्राउ पर्नेहरूमध्ये एक जनालाई तीन हजार र अन्य चार जनालाई १०–१० हजार धरौटीमा छोडिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।
‘उनीहरूमाथि अनुसन्धान गरी हिजो हामीले प्रशासन कार्यालय लगेका थियौं। सबैलाई धरौटीमा रिहा गर्न आदेश भयो,’डिएसपी विष्टले भने,’धरौटी बुझाएर सबै हिजो छुटे।’
आफ्नो माग सम्बोधन नभएको भन्दै गत गत पुस १३ गते राइडरको एक समूहले पठाओ कार्यालयमा तोडफोड गरेका थिए। यसपछि पठाओले गरेको किटानी जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सोही दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइडरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। असन्तुष्ट राइडरहरूले केहीसमय अगाडि पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए।
मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड सेयरिङ बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, सस्पेन्ड रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायत माग राखेका थिए।
गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएको भन्दै सामूहिक रूपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुढा र तोडफोड गरेका हुन्।
पठाओले भने १३ गते बिहान १० बजे आफ्नो तर्फबाट स्पष्टीकरण दिएको थियो।