काठमाडौं महानगरपालीकाले सडक, बिजुलीका पोल लगायतका स्थानमा राखेको नेपाल टेलिकम र कृषि विकास बैंकको ५१ वटा विज्ञापन बोर्ड हटाएको छ।
दुवै संस्थाले महानगरसगँ गरेको सम्झौता कार्यान्वयन गर्न अटेर गरेकोले माइतीघरदेखि तिनकुनेसम्मका सबै बोर्ड हटाइएको महानगरले जनाएको छ।
महानगरले माइतीघर मण्डलाको सौन्दर्यीकरण र व्यवस्थापनको जिम्मा बैंकलाई र माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन नेपाल टेलिकमलाई ५ वर्षको लागि दिएको थियो।
महानगर, बैंक र टेलिकमबीच बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र बिरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने सम्झौता भएको थियो।
सम्झौता अनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सहमती भएको थियो।
त्यस्तै बैंकले नेपाल टेलिकमसँग माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो संंस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता गरेको थियो।
तर, दुवै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरले जनाएको छ।
सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए।
‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ। उहाँहरुले चासो नदेखाएपछि महानगरपालिका आफैले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अघि बढाएको हो,’उनले भने।
धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजना रहेको ज्ञवालीले बताए।