नेपाल विद्युत प्राधिकरणले काठमाडौं-ढल्केवर प्रशारण लुप (सर्कल) जडान गरेको छ।
प्राधिकरणले २०७३ सालमा ढल्केवर-खिम्ती लाइन जडान गर्दा यो लुप भने जडान भएको थिएन।
प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निर्देशनपछि अहिले लुप जडान गरिएको हो।
‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भए,’ शाक्यले भने, ‘पटकपटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का परेको थियो।’
उनले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहने बताए।
‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो। अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौँडातिरको लाइनबाट बिजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्यो। कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन।’
अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशारण हुने र ‘मेक बिफोर ब्रेक’ गरिँदा विद्युत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ।
शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोल रूममा पुगेर विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिक सँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताए।
यसैबीच यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले गत आइतबारमात्रै स्वीकृत दिएको छ।
२ सय ५० मेगावाटमध्ये केही (८० देखि १५० मेगावाट ) २४ घन्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दामात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ।
‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको बताइएको छ।
गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको हो।
यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ। जसबाट आगामी वर्षातमा ५०० देखि ६०० मेगावाटसम्म निर्यातको सम्भावना बनेको छ।’