स्वयम्भू बुद्ध पार्क क्षेत्रमा सार्वजनिक 'स्मार्ट' शौचालय सञ्चालनमा आएको छ।
सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुरुप स्मार्ट शौचालय सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको शौचालयमा वडा नम्बर-१५ ले ५ लाख र बाँकी सरसफाई सम्बन्धी काम गर्ने संस्था ‘एरोसान’ले लगानी गरेको हो।
एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यका अनुसार शौचालय भवनमा आकाशे पानी संकलन गर्न १२ हजार लिटरको ट्यांकी राखिएको छ। शौचालयका सुविधा स्वचालित प्रविधिमा आधारित छन्।
पुरुषका लागि ४ वटा युरिनल र २ कोठे शौचालय छन्। महिला शौचालयमा बच्चालाई डाइपर फेराउने ठाउँ, २ रुपैयाँको ३ वटा सिक्का हालेर स्यानिटरी प्याड निकाल्न मिल्ने भेन्डर मेसिन जस्ता थप सुविधा राखिएको छ।
अमात्यका अनुसार प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) पनि जडान गरिएको छ। त्यस्तै पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा व्यवस्था गरिएको छ।
यस शौचालयमा स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका उनले जानकारी दिए।
अमात्यका अनुसार यहाँ नुहाउन मिल्ने सुविधा पनि छ। तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन, पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्था गर्ने प्रविधि जडान गरिएको छ।
बायो ग्यासका लागि १० घन मिटरको प्लान्ट छ। यसबाट मासिक रुपमा १.५ सिलिन्डर बराबर ग्यास उत्पादन हुने अमात्यले जानकारी दिए।
सुरुआती दिनमा शौचालय सञ्चालन खर्च जुटाउन महानगरले तोकेको शुल्क लिने भए पनि पछि नलिने अमात्यले जानकारी दिए।
‘हामीले पछि परम्परागत रूपमा सफाइसम्बन्धी काम गर्नेलाई यहाँ पसल राखिदिन्छौं। उहाँहरूले उत्पादन भएको बायोग्यासमा खाजा/नास्ता बेचेर नाफा भएको पैसा शौचालय सञ्चालनको खर्च जुटाउँछौ,’ उनले भने।
महानगरसगँको सहकार्यमा एरोसानले त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक शौचालय निर्माणका लागि प्रक्रिया अघि बढाएको छ।
काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम गरिरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।
‘काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भइरहको पार्कमा पनि शौचालयलाई प्राथमिकतामा राखेको छ। वडा–वडामा पनि यही नीति अघि बढाएको छ,’ मेयर शाक्यले भने।