एसियाली विकास बैंक(एडिबी)ले भैरहवा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेको छ।
एडिबीले नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जानकारी गराएको छ।
बैंकको बोर्ड बैठकले नेपालका लागि यो ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ।
यो ऋणबाट भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काममा पनि परिचालन हुने छ। भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि एडिबीले ऋण स्वीकृत गरेको जानकारी गराएको छ।
भैरहवामा पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडिबीले नै ऋण उपलब्ध गराएको थियो। जसको निर्माण अझै सम्पन्न भएको छैन।
प्राधिकरणले विमानस्थलमा टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको जानकारी दिएको छ।
दोस्रो चरणको काममा टर्मिनल बाहेक समानान्तर ट्याक्सी वे, पार्किङ वे जस्ता संरचना निर्माण गर्ने बताइको छ। यी सबैको लागत कूल १० अर्बसम्म पुग्ने अनुमान गरिएको छ।
एरोब्रिजसहितको टर्मिनल बनेपछि अहिले बनेको टर्मिनल आन्तरिक उडानका लागि उपयोग हुने छ। हाल बनेको टर्मिनलमा एक भाग आन्तरिक तथा अर्को भाग अन्तर्राष्ट्रिय उडानका लागि उपयोग हुने छ।
त्यस्तै यहीँ ऋणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानन्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङ जस्ता पूर्वाधार निर्माण हुने छन्। हालको नेपाली सेनाको ब्यारेक कायमै राखेर नयाँ पूर्वाधार निर्माण तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ।