नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक मंगलबार अनलाइन माध्यममार्फत बसेको छ।
प्रस्तावित एजेण्डाका विषयमा दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत् व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ।
साथै नेपाल-चीनबीच तातोपानी र रसुवागढी नाकामामा कोभिड-१९ को संक्रमणबाट बच्ने सबै उपायहरू अपनाई नाका सुचारू गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको हो।
नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकारात्मक छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन्।
छलफलका क्रममा दुवै पक्षले राखेका विषयवस्तुहरू सहज रुपमा कार्यान्वयन गर्नको लागि कूटनीतिक माध्यमबाट ‘नोट’ आदान-प्रदान गर्ने निर्णय भएको उनले बताइन्।
नेपाल र चीन बीच पारवहन-ढुवानी सम्झौताको कार्यान्वयनसहित व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको केसीले बताइन्।
रसुवा टिमुरेस्थित सीमा जाँच स्टेसन सुख्खा बन्दरगाह निर्माण गर्ने, १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने, नेपालमा वनस्पति र पशुजन्य वस्तुहरूको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने, नेपालबाट चीन निकासी गरिने खाद्य वस्तुहरूमा लेबलिङ गर्ने लगायतका विषयमा छलफल भएको छ।
त्यस्तै, नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास गर्ने, स्याफ्रुबेसी-रसुवा सडक मर्मत सम्भार र स्तरोन्नति गर्ने, नेपाल-चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्ने, व्यापार पूर्वाधार विकासमा सहयोग गर्ने, नेपाल-चीनबीचका तातोपानी र रसुवागढी दुई वटा अन्तर्राष्ट्रिय नाकाहरू सुचारु गर्ने, मुस्ताङको कोरोला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणका लागि चीनियाँ पक्षलाई अनुरोध गर्ने, नेपाल-चीन बीचको दुई पक्षीय सीमा विन्दु ओलाङ्चुङगोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्त रूपमा सम्भाव्यता अध्ययन गर्ने तथा सत्रौं नेपाल-चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय आयात प्रदर्शनी मेलामा सहभागि हुने विषयमा छलफल भएको छ।
नेपालबाट उक्त बैठकका नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् नेपाल-चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरे। चीनको तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले गरे।
उक्त कार्यदलमा नेपाल र चीनको तर्फबाट ११-११ जना प्रतिनिधि उपस्थित थिए।