कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाइन माध्यमबाट गर्ने व्यवस्था गरेको छ।
यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसी एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुने बताइएको छ।
सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी पनि अनलाइन माध्यममार्फत कनेक्टआइपिएस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खातामा गर्न सकिने छ।
अब देखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता हटेको कोषले बताएको छ।
यसका लागि ऋणीले कनेक्टआइपिएस इ–पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गरी सदस्य बैंकमा रहेको खातालाई लिंक तथा भेरिफाई गरेर सजिलै भुक्तानी गर्न सकिन्छ।
कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष साउनमा नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआइ)को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो।
सो सम्झौता अनुरुप गत वर्ष साउनदेखी नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ।
जसमा असार मसान्त २०७७ सम्म (एनपिआइ) मार्फत ५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन्।