लकडाउनले गर्दा नेपालमा अनलाईन कक्षाको चर्चा खुबै चुलियो। विभिन्न विद्यालयहरुले चल्तीका सामाजिक संजालमार्फत पढाउन समेत सुरु गरे।
यस्तै समस्या समाधान गर्न स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालनसम्बन्धी सफ्टवेयर सार्वजनिक गरेको छ।
लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ।
विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो सफ्टवेयर महत्वपूर्ण हुने दाबी टेक्नोलोजीले गरिरहेको छ।
निजी क्षेत्रबाट भएको यो प्रयासले केही हदसम्म हाल समस्या परेका विद्यार्थीलाई सहयोग पुग्ने टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक शिवाकोटीले जानकारी दिए।
यो सेवा लिन चाहने सरकारी विद्यालय तथा तीनै तहका सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालनको प्रस्ताव गरिएको टेक्नोलोजीले जनाएको छ।
सरकारी–निजी साझेदारी योजनाअनुसार ५० प्रतिशत छुटमा यो सेवा विस्तारको योजना ल्याइएको शिवाकोटीले बताए। सेवा केही अवधिका लागि निजी शैक्षिक संस्थालाई पनि छुट दिएर देशभर विस्तार गर्ने योजना रहेको उनले बताए।
सफ्टवेयरमार्फत घरमै बसेर कक्षा र परीक्षा लिन मिल्ने छ भने विद्यार्थी तथा शिक्षकको हाजिरी समेत लिन मिल्ने शिवाकोटीले बताए।
यसका साथै पाठ्यक्रम तयार पार्न, विद्यार्थी तथा शिक्षकको मूल्याङ्कन गर्न, भिडियो तथा अडियो सन्देशहरू पठाउन पनि सफ्टवेयर सहयोगी बन्ने उनले बताए।
२ सय ५० भन्दा बढी सुविधा सफ्टवेयरमा भएको टेक्नोलोजीका सञ्चालक अन्जन अधिकारीले दाबी गरे।
सफ्टवेयरमार्फत विद्यार्थी शूल्क, तलबलगायत अन्य हिसाब–किताब राख्न सकिने बताए। नियामक निकायलाई नियमन गर्न सजिलो हुने भएकाले यसमार्फत ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने उनको दाबी छ।
आगन्तुकहरूको फोटोसहितको विवरणसमेत सफ्टवेयरमार्फत राख्न सकिने उनले बताए।
विद्यालय व्यवस्थापनमा सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लग–इन गर्न मिल्ने उनले बताए। अनलाइन परीक्षा, गृहकार्य व्यवस्थापन, परिचयपत्र, (प्रवेशपत्र) तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न सकिने र प्रिन्ट गर्न सकिने उनले बताए।
एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, बिदा लगायतको जानकारी सिस्टममै दिन सकिने, सफ्टवेयर लामो समयसम्म नवीकरण गर्न नपर्ने अधिकारीको दाबी छ।
कुनै विद्यालयले यो सफ्टवेयर प्रयोग गर्न चाहेमा कम्पनीले डोमेन बनाइदिने छ र त्यही डोमेन मार्फत कक्षा संचालन गर्न सकिने छ। त्यस्तै यो सफ्टवेयर प्रयोग गरेवापत शैक्षिक संस्थाले एक जना विद्यार्थीको १ महिनाको २५ रुपैयाँ तिर्नुपर्ने छ भने १ वर्षको सम्झौता गरे २५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।