मुलुकको दोस्रो ठूलो भन्सार नाका रहेको रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा भन्सार विभागले तोकेको राजश्व लक्ष्य संकलन गर्न सकेन।
आर्थिक वर्ष २०७६/०७७ मा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलन गर्न लक्ष्य तोकेको थियो। तर कोरोना महामारीको कारण चार महिना आयात ठप्प हुंदा ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ।
भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले भन्सारले उठाएको राजश्व रकम विभागले तोकेको लक्ष्यभन्दा करिब ३० प्रतिशतले कमी भएको बताए।
लम्सालले कोराना भाइरसका कारण नेपाल भारत दुवैतर्फका सिमा नाका बन्द हुँदा आयातमा गिरावट आएकोले राजश्व लक्ष्य पूरा नभएको बताए।
सूचना अधिकृत लम्सालका अनुसार चैत महिनापछि मुलुकमा लकडाउन भएकाले दैनिक राजश्व असुली ह्वात्तै घटेको थियो।
खासगरी राजश्व असुली बढी हुने मालवस्तु आयात लकडाउनपछि गिरावट भएको भन्सार तथ्यांकले देखाउँछ।
लकडाउनपछि नेपालभारत सीमा क्षेत्र बन्द हुँदा दैनिक खुद्रा सामाग्री आयातमा निकै कमी आएको छ।
यस्तै यातायात क्षेत्र ठप्प हुँदा डिजल, पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्ट्स, हार्डवेयर, मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल स्ल्याव, पत्थर कोइला, सिंगल क्याव पिकअप गाडी, खरानी स्याल्याव, तयारी कपडा, जर्दाखैनी, रेफ्रिजेरेटर, ग्लाससिट, डोजर स्काभेटर, मिनी ट्रक, जिप, कार, भ्यान, क्लिंकर, विद्युतीय जेनेटर, माइक्रो बस लगायतको आयातमा गिरावट आएको छ।
तर, लकडाउनको अवधिमा पनि आलु, प्याज, चामल लगायतका खाद्यवस्तु भने अघिल्लोे वर्षको तुलनामा आयात भएको लम्सालले जानकारी दिए।
भन्सार तथ्यांकअनुसार यो आर्थिक वर्षमा लकडाउनका कारण दैनिक राजश्व असुली १६ करोड रुपैयाँको हाराहारीले गिरावट आएको छ।
लकडाउन हुनुभन्दा अघि दैनिक २४ करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन हुँदै आएकोमा लकडाउनपछि असुली दर घटेर ८ करोडमा सीमित भएको सूचना अधिकृत लम्सालले बताए।