सरकारले ट्याक्सी संचालन गर्न दिने निर्णय गरेपछि ट्याक्सी चालक दिपक नेपालको खुसीको सीमा नै रहेन। झन्डै ४ महिनादेखि ट्याक्सी चलाउन नपाउँँदा उनले घरभाडा समेत साथीसँग मागेर तिरेका थिए।
‘काम गर्न नपाएपछि अरु कुरा त परै जाओस् घर चलाउन समेत मुश्किल थियो। यहाँ ४ जनाको परिवार र गाउँमा बुबाआमालाई खर्च यही ट्याक्सीको भर न हो,’ नेपालले सेतोपाटीसँग भने।
तर, परिस्थिति भने उनले सोचेको भन्दा ठ्याक्कै उल्टो भइदियो। गाडी सडकमा त ल्याए तर चढ्ने मान्छे नै भएनन्।
‘आज बिहान साढे ५ बजे निस्केको अहिलेसम्म एक हजार मात्र कमाई भएको छ। यति पैसाले के खानु, कति किस्ता तिर्नु’, उनले दुखेसो पोखे।
सामान्य समयमा उनको थोरैमा पनि दिनमा ३ हजार कमाई हुन्थ्यो जसबाट मासिक ४० हजार किस्ता तिरेर घर खर्च चलाउँथे।
कपनका ट्याक्सी चालक सरोज पौड्यालको अवस्था पनि उस्तै छ।
सरकारले ट्याक्सी चलाउन दिएपछि आजसम्म १ हजारभन्दा बढी कुनैदिन पनि नभएकाे उनले बताए। वैदेशिक रोजगारीको लागि इजरायल गएका उनी विगत २ वर्षदेखि उपत्यकामा ट्याक्सी चलाउँछन्।
‘नेपालमै केही गर्ने उद्देश्यले फर्किएँ, अहिले यस्तो अवस्था आयो। फेरि विदेश नै जाउँ जस्तो लागिसक्यो,’ उनले भने ‘ यहाँ म श्रीमती र बच्चासँगै बस्छु। गाउँमा बाआमालाई पनि हेर्नुपर्यो। काम नै नपाएपछि कसरी धान्नु।’
पौडेललाई अहिले अरु भन्दा ट्याक्सीको किस्ता मासिक २० हजारले पिरोलेको छ। ‘बैंकले दिनदिनै फोन गर्छ। ब्याज तिर्ने पैसा त छैन, भने साँवा कसरी तिर्नु,’ उनले भने।
यस्ता समस्या उपत्यकाका १२ हजार ३ सय ट्याक्सीलाई नै परेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिलीपकुमार श्रेष्ठले बताए।
‘धेरै साथीहरुले त बौनी पनि भएन भनेर गुनासो गर्नुभएको छ। धेरै कमाई हुनेको दैनिक १ हजार १२ सय भन्दा छैन। यतिले त कसरी घर चलाउनु,’ उनले भने।
ट्याक्सी व्यवसायीको अवस्था सोचेभन्दा दयनीय भएको उनले बताए।
‘हामीले धेरै प्यासेन्जर आउँछन् भन्ने सोचेका त थिएनौँ तर खर्च धान्छ कि भन्ने थियो, त्यो पनि भएन,’ उनले भने। अहिले आम्दानी नभए पनि क्रमिक रुपमा अवस्था सुधार हुँदै जानेमा श्रेष्ठ आशावादी छन्।
‘हाम्रो आन्दोलन नै ट्याक्सी चलाउन पाउनुपर्छ भन्ने थियो। आम्दानी भएन भन्दैमा आफ्नो कर्म छोड्न भएन। विस्तारै राम्रो होला नि त,’ उनले भने।