भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए।
उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका हुन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए।
यससँगै उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने भन्दै पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट बचाउने पर्ने बताए।
कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गरे।
उक्त वडाका अध्यक्ष रमेश डंगोलले भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताए। सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन्।
“भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौं,” पहलले भने, “अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन्। यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं। अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो।”
सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गरिएको छ।
चारतलाको सत्तल बनाउन लागिएको थियौं, तर केही व्यक्तिहरुको सुझावका आधारमा दुईतला बनाउन लागेको उनले जानकारी दिए।