दाङ जिल्लाको विकट मानिने गोलटाकुरीमा पौने २ करोडको लगानीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
दंगिशरण गाउँपालिका वडा नं. २ मा हालसालै निर्माण पूरा भई स्थानीयलाई स्वास्थ्य सेवा समेत दिन सुरू गरेको स्वास्थ्य चौकी भौतिक पूर्वाधारका दृष्टिकोणले यस क्षेत्रकै नमूना मानिएको छ।
जिल्लाको कर्णाली भनेर चिनिने गोलटाकुरीमा निर्मित सुविधा सम्पन्न र आकर्षक स्वास्थ्य चौकी झन्डै १ करोड ८० लाखको लागतमा निर्माण पूरा भएको हाे।
चौकीका हेल्थ असिस्टेन्ट हरिशकुमार केसीले नयाँ भवनबाट सेवा दिँदा पहिलेको भन्दा धेरै सहज भएको बताए।
‘म पाँच महिना अगाडि आउँदा स्वास्थ्य चौकी केही माथि थियो,’ केसीले भने, ‘त्यो निकै साँघुरो र अव्यवस्थित भएकाले सेवा दिन कठिन थियो, अहिले सहज भएको छ।’
तीन महिना अगाडिदेखि नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरू भएको छ।
उनले नयाँ भवनबाट सेवा सुरू गरेपछि उपचार तथा सोधपुछका लागि आउने मानिसहरूको संख्या पनि वृद्धि भएको बताए।
‘यो विकटमा निर्मित आधुनिक भवनले स्थानीयहरूमा विश्वास जागृत गरिदिएको छ,’ केसीले भने, ‘अब मानिसहरू केही समस्या हुँदा पहिला यहाँ देखाउन आउँछन् अनि बल्ल हाम्रो सल्लाह अनुसार बाहिर जानुपरे जान्छन्।’
केसीका अनुसार एम्बुलेन्स र ल्याब सेवा समेत सुरू भएपछि दैनिक २० देखि २५ जना मानिसहरू स्वास्थ्य जँचाउन को लागि आउने गरेका छन्।
यो आर्थिक वर्षमा गोलटाकुरी स्वास्थ्य चौकीमा कुल ११ जनाले सुत्केरी सेवा लिएका छन्। त्यसमध्ये पुस महिना यता नयाँ भवनबाट सेवा सुरू गरेपछि महिनाको दुई/तीन जना सम्मले सुत्केरी सेवा लिएको केसीले जानकारी दिए।
गोलटाकुरी स्वास्थ्य चौकीमा नर्मल डेलिभरी हुने गरेको भए पनि अलि जटिल प्रकृतिकालाई भने रिफर गर्ने गरिएको छ।
तुलसीपुरको शितलपुरमा मात्रै बबई नदीमा पुल छ। वर्षामा अन्तकतैबाट तुलसीपुर बजार वा बाँकेतर्फ बिरामी लैजाने वैकल्पिक मार्ग थिएन। गोलटाकुरीका फुर्केसल्ली जस्ता विकट भूमिबाट बिरामी बजारसम्म लैजान शितलपुरबाट घुम्नुको विकल्प थिएन।
त्यही भएर कति बिरामी र घाइतेको समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै मृत्यु हुने गरेका कहाली लाग्दा घटनाहरू रहेको गाउँपालिकाकी उपाध्यक्ष पीमा खड्काले जानकारी दिइन्।
‘स्वास्थ्य चौकीमै २४ सै घन्टा एम्बुलेन्स हुनु र सानो तिनो उपचार त्यहीँ पनि सम्भव हुने हुँदा अब विपतको समयमा पहिले जस्तो आत्तिनु पर्ने अवस्थाको अन्त्य भएको छ’, उपाध्यक्ष खड्काले भनिन्।
स्वास्थ्य चौकीसँग वडा कार्यालयले खरिद गरेको आफ्नै एम्बुलेन्स छ। रा त झ १८८ नम्बरको त्यो एम्बुलेन्स गाउँपालिकाभरिका सुत्केरी हुने महिलालाई नि:शुल्क स्वास्थ्य चौकीसम्म ल्याउन र घरसम्म पुर्याउने काममा प्रयोग हुँदै आएको छ।
यदि जटिल अवस्थाका सुत्केरीलाई स्वास्थ्य संस्थाबाट बाहिर रिफर गर्दा पनि सहुलियतमा लैजाने गरेको छ।
माघदेखि ल्याब सेवा पनि सुरू भएको छ। न्यूनतम शुल्कमा ल्याबसेवा सञ्चालन गरिएको छ।
त्यसमध्ये टिभीको लागि खकार जाँच, एचआईभी जाँच, गर्भवती आमालाई एचआईभी छ कि छैन भनेर गरिने चेकजाँच निशुल्क गरिँदै आइएको चौकीका हेल्थ असिस्टेन्ट हरिशकुमार केसीले जानकारी दिए।