७५ वर्षीया खिमा भण्डारीको घर जग्गा र टरिगाउँ विमानस्थल, तारबारले छुट्टाएको छ। यहीँ जन्मेर हुर्केकी उनले ९ वर्षको उमेरदेखि नै आफ्नै आँखै अगाडि प्लेन बसे/उडेको देखिन्।
दाङको एकमात्रै टरिगाउँ विमानस्थल वि.सं २०११ सालदेखि सञ्चालनमा आएको थियो।
तुलसीपुरकै झमके निवासी झग्गुप्रसाद शर्माले तत्कालीन राजा त्रिभुवनलाई आग्रह गरेर उतिबेला पहिलो पटक यहाँ प्लेन अवतरण गराएका थिए। त्यो कुरा खिमाले पनि उतिबेलै सुनेकी हुन्।
उनी साथीहरूसँगै विमानस्थलको घाँसे मैदानभित्रै गाईवस्तु चराउँथिन्। पहिलो पटक अवतरण गर्दा प्लेनको आवाजले तर्सिएर गाई बाख्रा डाँडाडुँड गर्दै (कराउँदै) भागेको उनको विस्मृतिमा ताजै छ।
‘प्लेन आउने थाहा पाएपछि हामी दौडिएर गाई वस्तु पख्याउँथिम(पाखा लगाउँथिम्),' उनले भनिन्।
खिमाका सात छोरा/छोरी खेल्दै हुर्केको टरिगाउँ विमानस्थलको अवस्था आज पनि उस्तै छ। न समयअनुसार उनको गाईवस्तु चराउने स्थान बदलियो न विमानस्थलको अवस्था नै। खिमाको उमेरझैं विमानस्थलको उमेर उकालो र आयू ओरालो लागेको छ।
७० कटेकी खिमा, छ वर्षअघि बिरामी परिन्। घर नजिकैको विमानस्थल उनलाई त्यतिखेर कुनै काम लागेन। काठमाडौं जान बाँकेको राँझा विमानस्थल जानु पर्यो। त्यो उनको जीवनको पहिलो जहाज यात्रा थियो। त्यसपछि उनले जहाज चढेकी छैनन्।
टरिगाउँमा पहिला आजको भन्दा दोब्बर ठूलो (३५/३६ सिटे) जहाज उडान हुन्थ्यो। २०११ सालदेखि २०४२ सालसम्म जहाज नियमित भयो। त्यसपछि भने विमान चल्ने र बन्द हुने क्रम चलिरह्यो।
२०६८ सालमा लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाउँ विमानस्थलको धावन मार्ग कालोपत्रे भयो। जसको लम्बाइ जम्मा ७ सय ५० मिटर मात्रै थियो। त्यसयता टरिगाउँमा १८/१९ सिटे ट्विनअटर विमान मात्रै उड्छन्।
जग्गा हुँदाहुँदै धावनमार्ग ७५० मिटर मात्रै कालोपत्रे गर्नु गम्भीर प्राविधिक त्रुटि थियो। त्यही कारण आज एयरपोर्टमा ठूला विमान अवतरण गर्न सक्दैनन्। यसले विमानस्थलको भविष्यमाथि प्रश्न उठेको छ।
२०७३ सालमा दाङ तुलसीपुर निवासी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सिँचाइ मन्त्री हुँदा, कांग्रेसकै जीवनबहादुर शाही पर्यटन मन्त्री थिए। त्यतिखेर यो विमानस्थलको धावनमार्ग विस्तार गर्न एक/डेढ महिना लगाएर विस्तृत सर्वे भयो। तर नौ महिनामै सरकार फेरियो, मन्त्री फेरिए अनि काम रोकियो।
सर्वेपछि विमानस्थल आसपासका जग्गालाई धितो राखेर बैंकले ऋण दिन छाडे।
स्थानीय ४५ वर्षीय तिलक केसीले जति प्रयास गर्दा पनि बैंकबाट ऋण लिन पाएका छैनन्।
उनको १० कठ्ठा जग्गा विमानस्थलको तारबारसँगै जोडिएको छ।
केसीका अनुसार विमानस्थलको सर्वे गर्नुभन्दा पहिले त्यहाँ कठ्ठाको ५० देखि ६० लाख रुपैयाँसम्म जग्गा कारोबार हुँदैनथ्यो।
विमानस्थल विस्तारको हल्लापछि यो बीचमा ‘बैना’ भएका जग्गाको पैसा पनि फिर्ता भएको उनले बताए।
एक विगाहा जग्गा रहेकी ३८ वर्षीया बिमला बस्नेतलाई पनि बैंकले ऋण दिन मानेका छैनन्।
'अप्ठ्यारो टार्न तीन प्रतिशत गाउँले ब्याजमा कर्जा लिएको छु। अढाई वर्षयता विमानस्थल विस्तार हुने हल्लाले जग्गाको कारोबार ठप्प छ,' उनले भनिन्।
गाई बाख्राको घाँसको लागि लगाएका घर वरिपरिका सबै रुख-बिरुवा उर्दी जारी गरेर विमानस्थलले काट्न लगाइसकेको छ।
‘रुख-बिरुवा पनि सबै काटिदियो, न घरको तला थप्न दिन्छ, न त जग्गा नै विक्री गर्न दिन्छ,’ ५४ वर्षीय ओविराज बस्नेतले भने, ‘कि छिटो यो विमानस्थल विस्तार गरियोस्, हैन भने सदाको लागि बन्द गरियोस्।’
एक कठ्ठा जग्गा भएकी ३९ वर्षीया रमा भण्डारीले पनि विमानस्थल विस्तारबारे टुंगो लगाउनु पर्ने बताइन्।
‘यदि विमानस्थल विस्तार हुन्छ भने यहाँबाट उठ्न पनि तयार छौं। अवस्था सुधार नहुने हो र यस्तै रहिरहने हो भने यो विमानस्थल सदाको लागि बन्द गरे हुन्छ,' उनले भनिन्।
३८ वर्षीय हेमराज भण्डारी भने १८ मिटरसम्मको धावनमार्ग विस्तार गर्न कुनै समस्या नभएको बताए।
‘राज्यले चाहनुपर्यो, दक्षिणतर्फ विस्तार गर्न सरकारी जग्गा जति पनि छ, उत्तरतर्फ बस्ती बसेको क्षेत्र पनि ऐलानी नै हो,' उनले भने।
दक्षिणतर्फ तरुण सामुदायिक वनको जग्गा हुँदै ग्वारखोलासम्म विस्तार गर्न सजिलो रहेको उनले बताए।
‘ग्वारखोलाको बालुवा गिट्टी बेचेर राजस्व संकलन गर्ने राज्यले त्यो बालुवा गिट्टीले चिरो भाट्न किन सक्दैन?,’ भण्डारीले प्रश्न गरे।
६५ वर्षे इतिहास बोकेको टरिगाउँ विमानस्थल विकास नहुनेको प्रमुख कारण राज्यकै विभेदकारी नीति र जिल्लाबाट नेतृत्व गर्ने जनप्रतिनिधिको ‘निकम्मापना’लाई मान्नुपर्ने स्थानीय ४० वर्षीय ठाकुरबहादुर भण्डारीको बताए।
त्यसमा क्षेत्रीय राजनीतिले पनि भूमिका खेलेको उनको बुझाइ छ।
तुलसीपुरमा इतिहास बोकेको विमानस्थल छँदाछँदै घोराहीको नारायणपुरमा अर्को विमानस्थल बनाउन खोज्नुको कारण त्यही भएको भण्डारीले बताए। हालसम्म टरिगाउँ विमानस्थलमा इन्धन डिपो समेत छैन। त्यसले गर्दा यात्रु बोक्ने सिटमा प्लेनले इन्धन बोकेर ल्याउनुपर्छ। त्यो भाडा पनि यात्रुले व्यहोर्नुपर्ने बाध्यताले भाडा बाँकेभन्दा धेरै महँगो छ।
दाङले पछिल्लो समय मुख्यमन्त्री, सभामुख पाउँदा पनि उनीहरूले विमानस्थलको विकासमा कुनै चासो नदिएको उनले आरोप लगाए।