प्रधानमन्त्री केपीशर्मा ओलीले एमसिसीबाट आएको पैसाले राष्ट्रिय प्रसारण लाइन बनाएर विदेशमा विद्युत निर्यात गर्ने बताएका छन्।
नेपालमा विद्युत उत्पादन बढिरहेकाले यसको निर्यातले नेपालीको जीवन उकास्ने उनले बताए।
सोमबार प्रधानमन्त्री ओलीले विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कामको उद्घाटन गर्दै अब विद्युत खपत बढाउनु पर्ने अवस्था आएको बताए।
‘विद्युतको खपत बढाउन जनताको क्रयशक्ति बढाउनु पर्छ। त्यसको लागि पुर्वाधार विकास, कृषिमा आधुनिकीकरण हुनुपर्छ,’ उनले भने।
विद्युत् वितरण प्रणालीको भूमिगत पनि विकाशको एउटा नमुना भएको उनले बताए।
‘तारहरू झुण्डिएको गुजुल्टिएको देख्न पर्दैन। यसले काठमाडौंको सुन्दरता बढाउँछ। अत्याधुनिक मेसिनबाट ड्रिल गरेर तारहरु भूमिगत गरिने भएकोले सर्वसाधरणलाई कुनै समस्या पर्दैन’ ओलीले भने।
सरकारले राम्रो काम गरेपनि कतिपय मिडियाले त्यसलाई उल्टो ब्याख्या गरेको उनले आरोप लगाए। ‘हामीले तुइन हटाउँछौ भन्यौ र अधिकांश हटायौँ, तर दार्चुला पुगेर २ ओटा तुइनको फोटो छाप्नु हुन्छ।
किन यति दुख गर्या होला? देश विकास हुन लाग्दा किन रुवावासी,’ ओलीले भने। ओलीले ठेकदारलाई समयमै काम सक्न निर्देशन समेत दिए।