हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ गत सोमबार बिहान करिव ८ बजे इमाडोलस्थित घरबाट साथीलाई भेट्न बानेश्वर जादै थिए।
हतारमा सिटबेल्ट लगाउन बिर्सिएछन्। संयोगबस त्यही दिन ग्वार्को चोकमा छड्के चेकिङ रहेछ।
‘ग्वार्को चोकमा पुगेपछि ट्राफिक प्रहरीले मेरो गाडी रोक्नुभयो र गाडी साइड लगाउन भन्नुभयो,’ घिमिरेले सेतोपाटीसगँ भने।
ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान सन्तोष चौधरीले घिमिरेलाई कसुर सम्झाएर ५ सयको चिट काटिदिए।
बुधवार जरिवाना तिर्न जाँदा घिमिरेले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम प्रसाद ढकाललाई नै भेटेर प्रहरीको राम्रो व्यवहार प्रती कृतज्ञता व्यक्त गरे।
ढकालले उनलाई चिट काट्ने ट्राफिक प्रहरीसँग पनि भेट गराइदिए।
‘हामीले प्रहरीको अभिनय गर्दा निकै कडा देखाउछौं। उहाँ निकै नम्र लाग्यो, त्यसैले धन्यवाद दिन मन लाग्यो,’ घिमिरेले भने।
आफूलाई जति नै हतार भएपनि अबदेखि ट्राफिक नियम पालना गर्ने घिमिरेले प्रतिवद्धता जनाएका छन्।