नेपालबाट अस्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी जाने क्रम बढेसँगै काठमाडौंमा अस्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको सुरूआत गरिएको छ।
नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले इन्फर्मेसन सेन्टर सुरू भएकोमा खुसी व्यक्त गर्दै सूचना केन्द्र नेपाली विद्यार्थीहरूको लागि जानकारीको भरपर्दो माध्यम बन्ने विश्वास व्यक्त गरे।
नायरका अध्यक्ष विज्ञान श्रेष्ठले विद्यार्थी, अभिभावक र अन्य सम्बद्ध निकायलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्र खोलिएको बताए।
काठमाडौंको हात्तीसारमा खोलिएको सूचना केन्द्रमा सेमिनार हल, मिटिङ रूम, परामर्श केन्द्र, डिजिटल लाइब्रेरीको माध्यमबाट अस्ट्रेलिया आउनुअघि नै विद्यार्थी र सम्बद्ध सबैले सूचना प्राप्त गर्नेछन्।
एउटै थलोमा उनीहरूले विश्वविद्यालयहरूका प्रतिनिधिसँग परामर्श समेत गर्न पाउनेछन्।
एसोसिएसन अफ नेप्लिज अल्मुनी फ्रम अस्ट्रेलियाका अध्यक्ष डा. रामहरि अर्यालले सूचना केन्द्रको आवश्यकता टडकारो बनेको बेलामा सुरूआत गरिएको भन्दै प्रशंसा गरे।
नायरले सूचना केन्द्रमा आइएलटिएस परीक्षाको तयारी, अस्ट्रेलिया जानुअघिको तालिम, शिक्षा ऋण, विश्वविद्यालयहरूमा विषय छनोटलगायत सेवासम्बन्धी परामर्श दिनेछ।