युरोपको कम्पनीले नेपालमा फ्लाइङ स्कुल खोल्न इच्छुक देखिएको छ। युरोपियन कम्पनी एएलएस ग्रुपका प्रतिनिधि काठमाडौं आएर सो बारेमा चासो देखाएका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमै पाइलटलाई तालिम दिने संस्था खोलिने घोषणा गरेका थिए।
उनको घोषणापछि उक्त ग्रुपका चेयरमेन डस्टिन पाउल विल्डले मन्त्री भट्टराई,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलसँग भेट गरेका छन्।
भेटका क्रममा उनले नेपलमा एभिएसनसँग सम्बन्धित एप्रुभ ट्रेनिङ अर्गनाइजेशन खोल्ने र त्यसको प्राथमिकता पाइलट तालिम तथा क्याविन क्रु तालिम दिने बताएका थिए।
यसबारेमा सहमति भएमा आफूहरुले लाखौ डलर लगानी गर्ने बताएका छन्।
नेपाल आएको एएलएसको प्रतिनिधि मण्डलले नेपाल एयरलाइन्ससँग मिलेर संस्था खोल्न चाहेको छ। उसले यसबारेमा नेपाल एयरलाइन्सका अधिकारीहरु पनि भटेको थियो।
उक्त टोलीले नेपालमा फ्लाइङ स्कुल खोल्न चासो दिएको र त्यस बारेमा कानूनी तथा नीतिगत व्यवस्थाका बारेमा जानकारी लिन खोजेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
'उनीहरु यहाँ आएर हामीसँग जिज्ञासा राखेका थिए। यदि यस्तो खोल्ने भए कम्तिमा एउटा विमानस्थल हामिले उपलब्ध गराउनुपर्छ। हामीले उहाँहरुलाई आउनुहोस हामी सहयोग गर्न सकारात्मक छौ भन्ने जवाफ दिएका छौ' उनले भने।
एएलएसले नेपालमा सुरुमा एटिआर सिम्युलेशन गर्न खोजेको छ। क्रमश क्याविन क्रु तथा पाइलट तालिम दिने र यसबाट दक्षिण एसियालाई सेवा दिने उद्देश्यसहित नेपालमा सेवा विस्तार खोजेको छ।
एएलएसले आफ्नो वेबसाइटमा पनि नेपालमा अफिस खोल्नका लागि छलफल गरिरहेको जानकारी गराइएको छ।
एएलएसले जहाजको लिज अपरेशन, एमआरओ र इन्जिनियरिङ,ग्राउन्ड ह्यान्डलिङ तथा सेफ्टी अडिट इन्सपेक्सको काम गर्दै आएको छ। उले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार कम्पनीले एभिएसन म्यानेजमेन्ट, फ्लाइट अपरेशन ट्रेनिङ, लाइन ट्रेनिङ तथा टाइप रेटिङको काम गर्दै आएको छ।
युरोपियन कम्पनीले नेपालमा फ्लाइङ स्कुल खोल्न खोजे पनि त्यसको सम्भाव्यताका बारेमा प्रश्न उठिरहेका छन्। यसअघि पनि शिवानी एयरले यस्तै संस्ठा खोलेर असफल भएको थियो।
केही समयअघि नेपाल हवाई सेवाप्रादयक संघले गरेको एक अध्ययनअनुसार तत्काल फ्लाइङ स्कुलको सम्भावना नभएको पाइएको थियो।
यद्यपी यसबारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहहेको छ।