बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्ने कुरा बेलाबेलामा चर्चा हुनेगर्छ। तर फेरि सेलाएर जान्छ। तर पछिल्लो २ वर्षदेखि यो विमानस्थल आयोजनाका बारेमा निरन्तर चर्चा भइरहेको छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन(इआइए) स्वीकृत भएसँगै पर्यावरणीय मुद्दामा छलफल भइरहेको छ। धेरै क्षति हुने भएकाले निजगढको विकल्प खोज्नुपर्ने लगायतका सुझाव पर्यावरण अभियन्ताहरुले दिंदै आएका छन्।
पर्यावरणीय प्रणालीमै प्रभाव पार्ने भएकाले यसको विकल्प,यो आयोजनाको भविष्य र अहिलेको तयारीका बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग गरिएको कुराकानी:
निजगढको विकल्पका बारेमा किन अध्ययन गरिएन? यदि गरिएको थियो भने हामीलाई किन जानकारी दिइएन भनेेेर गुनासाे आइरहेको छ। यसमा तपाईहरुले किन बेवास्ता गर्नुभएको?
निजगढ विमानस्थलका बारेमा धेरैपटक अध्ययन भएको छ। सन् १९९५ मा नेपिकोन भन्ने संस्थाले अध्ययन गरेको थियो। उसले अध्ययन गर्दाखेरी मेचीदेखि महाकालीसम्मका ८ सम्भावित स्थानहरु छनौट गरेको थियो। त्यसमध्ये सबैभन्दा उपयुक्त भनेर निजगढ सिफारिस गरेको थियो। विकल्पका बारेमा अध्ययन नगरिएको भन्ने कुरा सत्य होइन। दोस्रो कुरा थाहा दिने भन्ने कुरामा हामीले विभिन्न समयमा दिएकै छौ। हाम्रै दस्तावेजमै पनि खुलस्त पारेका छौ।
वातावरण अभियान्ताहरुले दक्षिणतिर लिनुपर्छ पनि भन्नुएको छ। ५० किलोमिटर पूर्व लिनुपर्छ पनि भन्नुभएको छ। लिनै नै हो भने दाङमै लिए पनि हुन्छ। काठमाडौंभन्दा ठूलो उपत्यका त दाङ हो। तर सम्भाव्य हुनुपर्यो।
हामीले राजधानी काठमाडौंको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल खोजेको हो। त्यो भनेको काठमाडौंबाट सबैभन्दा नजिकको सम्भाव्य ठाउँ हो। त्यो भनेको निजगढ नै हो।
त्यहाँ हामीले फूलफ्लेजको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेका हौ। जहाँ आवस्यकताअनुसार १ भन्दा बढी धावनमार्ग बनाउन सकियोस। टर्मिलन तथा कार्गो बिल्डिङ बनाउन सकियोस। एयरलाइन्सलाई चाहेजति ह्यांगर बनाउन सकियोस। कसैले मर्मत केन्द्र खोल्छ भने ठाउँ दिन सकियोस। होटल तथा गल्फ कोर्स बनाउन सकियोस भन्ने उद्देश्य हो।
नेपालमा यस्तो प्राइमेरी विमानस्थल छैनन्। काठमाडौं तथा भैरहवा विमानस्थलमा यी कुराका लागि बाँकी विस्तारको सम्भावना छैन। त्यहाँ लिमिटेसनहरु छन्। पोखराको कुरै नगरौ।
यी कारणहरुले गर्दा निजगढ चाहिन्छ भनेका हौ।
जहाँसम्म दक्षिणतिर च्याप्ने कुरा छ। हामीले गरेकै त्यही हो। जंगल क्षेत्रको सबभन्दा दक्षिणको भागमै विमानस्थल बनाउन खोजेका छौ। जुन टाँगिया बस्तीसँग जोडिन्छ।
सिमरामा सरकारी जग्गा छ। त्यहीको विमास्थललाई विस्तार गरेर बनाउन किन सकिंदैन भन्ने प्रश्न पनि उठेको छ नि?
हामीले खोजेको विमानस्थल सिमरामा सम्भव छैन। किन भने त्यो सिमा नजिक छ। दक्षिणतिर पर्छ। त्यसको पनि अध्ययन भएको हो। पथलैया,डुमरवाना क्षेत्रको अध्ययन यसअघि नै भएको हो। त्यसका बारेमा पहिला बुझ्नुपर्यो। विमानस्थल भन्ने कुरा खाली जग्गा देख्नेबित्तिकै बनिहाल्ने र बनाइ छाड्ने कुरा पनि होइन।
सिमरामा विमानस्थल बन्न नसक्ने कुरा प्राविधिक छ। हामीलाई कुनै पनि जहाज हाम्रो एयरस्पेसमा हुनुपर्छ। अर्थात् उडिरहेको जहाज अवतरण गर्ने प्रक्रिया हाम्रो देशको एयरस्पेसभित्रै हुनुपर्छ। त्यो भनेको १० नटिकल माइल (१८-१९ किलोमिटर) हो। जुन सिमरा छैन।
खासमा अहिलेको योजनाअनुसार वन क्षेत्र प्रयोग हुने कति हो?
सबै गरेर हामीले १९ सय हेक्टर क्षेत्र प्रयोग गर्ने हो। जुन सबै बन क्षेत्र होइन। यसमा हामीले अधिग्रहण गरेका जग्गादेखि टाँगिया बस्ती सबैको क्षेत्रफल यसैमा जोडिन्छ। त्यसमा भएका ठूला रुख १ लाख ३५ हजार पहिचान भएका छन्। साना रुख तथा बिरुवा ३ लाख ८० हजार छन् भन्ने प्रारम्भिक अनुमान छ। यसो वास्तविक आँकडा वन मन्त्रालयले निकाल्दै छ। ठूलो संख्यामा रुख मासिने होइन।
पर्यावरणीय क्षतिको पूर्ति कसरी हुन्छ? न्यूनीकरण कसरी गर्ने हो?
वातावरणीय प्रभाव मूल्यांकन पनि वातावरण विदहरुले नै गर्नुभएको हो। हामीले गरेको पनि होइन। त्यो स्वीकृत पनि भइसकेको छ। त्यसमा हाइड्रोको नाम आयो भन्दैमा त्यसको विश्वानीयतामा प्रश्न उठाइएको छ। तर पछि फेरि गरिएको अध्ययनबाट त्यो विमानस्थलकै इआइए हो।
रुख काटिएपछि नियम तथा कानूनअनुसार अहिले राष्ट्रिय गौरवका आयोजनाका लागि एकको बदला १० रुख भनिएको छ। यो रोप्न हामी प्रतिबद्ध छौ। हामीले रुख आफै रोप्ने कि वन मन्त्रालयले गर्ने कि भन्ने कुरा सहमति होला।
दोस्रो बस्तीको व्यवस्थापनका लागि हामीले विभिन्न मोडलमा छलफल गरेका छौ। यो जटिल छैन। हामी विमानस्थल बन्दा पर्ने वातावरणीय प्रभावको न्यनीकरण तथा क्षतिपूर्तीका हरेक उपाया अपनाउँदै छौ।
तर केही अभियानताहरुले भने भएको वातारणीय समस्याका बारेमा जानकार नै हुनुहुन्न।
कुन समस्या हो त्यस्तो उनीहरु नै जानकार नभएको ?
अहिले नै काठमाडौं विमानस्थल साँघुरो भएका कारण जहाज होल्ड हुन थालेका छन्। अबको पाँच वर्षपछिको हालत के होला? हामीले जहाज नै नआउ त भन्न मिलेन। त्यस्तोमा के हुन्छ जहाज होल्ड हुन्छन्। अहिले पनि भइरहेका छन्। पछि झन् बढेर जान्छ।
एउटा जहाजले एक टन फ्युल बर्न गर्यो भने ३ टन बढी कार्बन उत्सर्जन गर्छ। मानौ कुनै एयरबसको ए३३० जहाज एक घण्टा होल्डमा पर्यो भने त्यसले कति फ्युल बर्न गर्ला? समान्यतया त्यस्तो जहाजले घण्टामा साढे ६ टनसम्म फ्युल बर्न गर्छ। त्यसका कारण २० टन कार्बन उत्सर्जन गर्छ। यसले हाम्रो हिमालय पर्वतीय क्षेत्रको पर्यावरणमा कस्तो असर पार्ला? यसमा कसैको चिन्ता छैन।
यहाँ त केबल रुखको मात्र कुरा छ। त्यसमा त हामी क्षतिपूर्तिका लागि काम गर्दै छौ नि। अर्को कुरा यत्तिको ठूलो आयोजना नेपालमा अर्को छैन। र अब सायद यति रुख अर्को आयोजनामा नकाटिएला पनि।
अर्कोतिर नेपालमा वन माँसिदै गएको पनि होइन। वन मन्त्रालयको तथ्यांकले भन्छ निजगढ विमानस्थलको कूल क्षेत्रफलभन्दा ६ गुणा बढीले वन क्षेत्र बढीरहेको छ। यसमा भ्रम सिर्जना गर्ने काम पनि भइरहेको छ।
निजगढको आवस्यकता र औचित्य औल्याउँदाको समयमा भैरहवा र पोखरा विमानस्थलको कल्पना नै गरिएको थिएन। अहिले ती दुई विमानस्थलसहित काठमाडौं विमानस्थलको अधिकतम क्षमतासमेत जोड्दा निजगढमा विमानस्थल चाहिने हो कि होइन भन्ने प्रश्न पनि उठेको छ। यसमा तपाई कसरी औचित्य देखाउनुहुन्छ?
यस्ता प्रश्न उठाउने विज्ञता मैले बुझ्न सकेको छैन। हामीले यसको डिटेल अध्ययन पनि गराएका छौ। हालासालैमात्र हवाई क्षेत्रका विज्ञ समूह गठन गरेको थियो। उहाँहरुले अध्ययनको निष्कर्षले पनि के भन्छ भने सन् २०३५ निजगढ विमानस्थल दोस्रो चरणको क्षमतामा जान्छ। भनेपछि हालसालैको अध्ययनले पनि निजगढको आवस्यकता देखाएको छ।
अर्को कुरा पोखरा विमानस्थल पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल होइन त्यसमा ठूला जहाज ल्यान्ड गर्नसक्दैनन्। भैरहवामा पनि हामी २ धावनमार्ग बनाउन सक्दैनौं। किन भने भारतीय सीमाबाट नजिक छ।
हामीले खोजेको देशको मुख्य विमानस्थल खोजेको निजगढ नै हो।
अघि पनि भन्नुभयो प्राइमरी विमानस्थल। त्यो नेपाललाई किन चाहिएको हो?
हामी सँधै सबै कुरामा अन्यत्रै निर्भर हुने हो ? एउटा सार्वभौम राष्ट्र सँधै सिमित हुने कुरा पनि हुँदैनहोला। हामीसँग पूर्ण क्षमताको विमानस्थल बनाउने विकल्प प्रयोग नगर्ने? हामी अन्यत्रै ट्रान्जिट हुने? हामीले सुविधा दिन सक्यौ भने हाम्रै विमानस्थल ट्रान्जिट बनाउने अप्सन त हुन्छ नि। हामी पनि रणनीतिक लोकेशनमा छौ।
एउटा सार्वभौम राष्ट्रका लागि कुनै पनि सिमा नभएको पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवस्यक छ।
त्यो भनेको कस्तो विमानस्थल हो। कस्ता जहाज ल्यान्ड मिल्छ? संसारमा अहिले भएका सबैभन्दा ठूला जहाज अवतरण गर्न सक्छ? ठूला कार्गो जहाज ल्यान्ड गर्न मिल्नेगरी बन्ने हो कि सामान्य प्यासेन्जर जहाजमात्र ?
नेपालमा कार्गोका बारेमा छलफल भएकै छैन। यात्रु त प्रत्येक वर्ष बढीरहेका छन्। यी गतिमा अघि बढे अबको पाँच वर्षभित्रै काठमाडौं विमानस्थलमा एउटा पनि नयाँ उडान दिन सकिंदैन।
भुपरिवेष्ठित मुलुक नेपालमा कार्गो उडान नै छैन। भारतजस्तो देशमा त कार्गो उडान दैनिक हुन्छ। ठूलो बजार छ त्यसको। स्वयम भारतले त्यसमा धेरै जोड दिएको पनि छ। हाम्रो नेपालमा पहिले लुफ्थान्साको कार्गो जहाज आउथ्यो। तर अहिले छैन। उनीहरुले साना कार्गो जहाज हटाइदिए। ठूला ४ सय टन भन्दा ठूला जहाज लिए। जुन हाम्रा अहिलेका विमानस्थलमा अवतरण सम्भव हुन्न।
त्यसैले यस्तै जहाज पनि अवतरण गर्नमिल्नेगरी निजगढमा विमानस्थल बन्छ। त्यहाँ हाम्रो ३६ मिटरको धावनमार्ग बन्छ जसमा अहिले संसारमा रहेका कुनै पनि जहाज सहज उडान तथा अवतरण गर्नसक्छन्। एयरबस ३८० जहाज ठूलो भएकै कारण बन्द भयो भने त्यही जहाजलाई अवतरण गर्नसक्नेगरी बनाउन खोजेको हो।
यसको व्यावसायिक सम्भाव्यता के हो?
१९९७ सम्भाव्यता अध्ययन भएको थियो भने सन् २०११ मा विस्तृत सम्भाव्यता अध्ययन भएको थियो। त्यो सम्भाव्य छ भनेरै नै हामीलाई बनाउन दिनुपर्यो भनेको थियो। काठमाडौं सबैको पहिलो गन्तव्य हो। भैरहवाको विमानस्थलको एकमात्र गन्तव्य लुम्बिनी हो प्राथिमक रुपमा। पोखरामा ठूला जहाज नै जानसक्दैनन्। भनेपछि काठमाडौंको विकल्प निजगढ विमानस्थल सबैभन्दा सम्भाव्य हो। त्यसैले त कोरियन कम्पनी आफै बनाउन इच्छुक थियो।
अहिलेसम्मको तथ्यांकले यात्रुको संख्या घट्ने देखाउँदैन। यात्रु नै पाइदैनन्। त्यस्तोमा के होला भनेको त निराशावादी नै होला।
निजगढ विमानस्थलमा १९ सय हेक्टरमा कुन संरचनाले कति क्षेत्रफल ओगट्छ?
हामीले त्यहाँ ३६ सय मिटरको धावनमार्ग हो। त्यसले सबैगरी ६ किलोमिटर लम्बाइ लिन्छ। सँगै समानान्तर ट्याक्सी वे पनि हुन्छ। जसले धानवमार्गजत्तिकै क्षेत्र लिनेभयो। त्यसपछि १ लाख वर्गमिटरको टर्मिनल भवन बनाउछौ। त्यस्तै अर्को धानमार्ग बनाउने हो भने १ किलोमिटरको दुरी चाहिन्छ। पहिलोचरणमा एउटा धावनमार्गमात्र बन्छ। कार्गो टर्मिनलदेखि विमानस्थलका आधारभुत सबै संरचना पनि यसमै बन्छन्। पछि भनेका विस्तारमात्र हुन्छन्।
एयरपोर्ट सिटी बन्छ कि बन्दैन?
कोरियन कम्पनीले विमानस्थलको सम्भाव्यताका लागि बनाउन खोजेको थियो। तर अहिले जुन जुरिच एयरपोर्ट छनौट भएको छ। उसले जुन प्रारम्भिक प्रस्ताव दिएको छ त्यसमा सिटीको कुरा छैन। तर उसको डिटेल प्रस्ताव आएको छैन।
तर हामी सिटी बनाउने पक्षमा छैनौ। किन भने विमानस्थल आसपासमा नगरपालिका छन्। साना सहरहरु छन्। तिनी आफैमा सहर हुन्। विस्तारै विकास हुन्छन्। विमानस्थल भित्र होटल होलान् तर वस्ती नै बसाल्ने कुरा हुँदैन।
मंसिरमै विमानस्थल उद्घाटन हुन्छ भनेर मन्त्री ज्यूले भन्नुभएको थियो। तर अहिलेसम्म पनि भएको छैन। आयोजनाको तयारी के कसरी भइरहेको छ?
त्यो माननीय मन्त्रीज्यूको स्पीड हो। उहाँले जसरी काम अघि बढाउनुभएको थियो सबै कुराले साथ दिएको भए मंसिरमै उद्घाटन हुन्थ्यो। तर बीचमै धेरै बाधा अड्चन आएका कारण भएन। यद्यपी उहाँ अहिले पनि निरन्तर लागिरहनुभएको छ।
अहिले नै जुन १९ सये हेक्टरमा भएको सहमति पनि उहाँकै अग्रसरतामा भएको हो।
अहिले हामी निजी जग्गा जुन ६६ बिगाह अधिग्रहण भएको छ। ११० मध्ये बाँकी हुँदै छ। त्यसमा पनि २० बिगाहा ऐलानी हो भन्ने कुरा पनि आएको छ। यसमा अधिग्रहण गर्नुपर्न अत्यन्तै न्यून छ।
यसमा ५५ किलोमिटर तारबार लगाएका छौ।
पूर्व तयारीका काम यसैगरी चलिरहेका छन्। अर्कोतिर लगानीकर्ता खोजी गर्ने काम लगानीबोर्डले गरिरहेको छ। सकभर विदेशी लगानीकर्ताको पहल गर्ने हो। यदि भएन भने पनि सरकार आफैले बनाउछ।