पर्यावरण अभियन्ताहरुले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै नहुने माग गरेका छन्। विमानस्थल आयोजना बन्ने भनेर कुरा चलेदेखि निजगढमा विमानस्थल बनाउन नहुने माग गर्दै आएका अभियन्ताहरुले उक्त मागमा दृढ रहेको बताएका छन्।
वातावरण संरक्षणका लागि युवा अभियानले राजधानीमा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले निजगढमा अहिले बनाउने भनिएको ठाउँमा धेरै क्षति हुने भएकाले विमानस्थल बनाउनै नहुने बताएका हुन्।
विमानस्थलले दिने लाभको तुलनामा पर्यावरणिय क्षति धेरै हुने भएकाले सरकारले बनाउने भनेर निश्चित गरेको ठाउँमा विमानस्थल बनाउनै नहुने उनीहरुको भनाइ छ। घना जंगल तथा सयौ वर्षदेखिका रुखहरु रहेको ठाउँमा विमानस्थल बनाउनुभन्दा त्यसको बिकल्प खोज्नुपर्ने उनीहरुको माग छ।
सरकारले विमानस्थल बनाउनेभन्दा पनि रुख काट्नेमात्र योजना बनाएजस्तो देखिएकाले आफूहरुलाई धेरै शंका उत्पन्न भएको अभियन्ता गोविन्दप्रसाद काफ्लेले बताए।
'विमानस्थल बनाउनका लागि निजगढको बिकल्पमा अन्य ठाउँ पनि छन्। जहाँ त्यस्तो वनक्षेत्र पनि पर्दैन। तर सरकारले त्यही ठाउँको बिकल्प छैन भनेर रटान लगाउन छाडेको छैन। अन्य किन सम्भव छैन भनेर हामीलाई भनिएको पनि छैन। यस्तोमा सहजै शंका उत्पन्न हुन्छ कि सरकारको आँखा विमानस्थलभन्दा भएका रुखमा देखिन्छ' उनले भने।
अहिलेको विमानस्थल बनाउने भनिएको ठाउँभन्दा ५ किलोमिटर उत्तर तथा १५ किलोमिटर पूर्वतिर पनि विमानस्थल बनाउन सकिने उनको भनाइ छ।
सरकारले २०४० सालदेखि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना बनाउन सुरु गरेको थियो। अहिले विमानस्थलको क्षेत्र निर्धारण भएको छ। कूल ८ हजार हेक्टर क्षेत्र विमानस्थलका लागि क्षेत्र निर्धारण गरिएको छ।
पहिलो चरणका लागि १ खर्ब लागत लाग्ने अनुमान गरिएको यो विमानस्थल बनाउनका लागि विदेशी लगानीकर्ताको खोजी भइरहेको छ।
क्षेत्र निर्धारण भएर वातावरणीय प्रभाव मूल्यांकन पनि पारित भइसकेको आयोजनाका लागि वातावरण अभियान्ताले आपत्ति जनाउँदै आएका छन्। उनीहरुले इआइए नै राम्रोसँग नगरिएको,धेरै क्षति हुने भएको र अन्य बिकल्प नखोजिएको भन्दै गैरकानूनीसमेत हुने बताउँदै आएका छन्।
यसै सन्दर्भमा अभियान्तहरुले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन्। अदालतले यसको प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा अन्तरकालिन आदेश जारी गर्दै तत्काल कुनै पनि काम अघि नबढाउन आदेश दिएको छ।
शुक्रबार आयोजित कार्यक्रमका अधिकांस सहभागीहरुले आयोजनाका लागि बनाइएको इआइए नै गलत भएको,वन तथा वातावरण विनास हुने तथा सामाजिक प्रभाव पनि महंगो हुने भएकाले बिकल्प खोज्न सरकारलाई सुझाव दिएका छन्।
पूर्वमन्त्री दिपक ज्ञवालीले निजगढमा विमानस्थल आवस्यक छ कि छैन भन्नेबाछ बहस सुरु गर्नुपर्ने बताए।
'पहिले यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको थियो। तर अहिले यो चौथो भएको छ। भैरह,पोखरापछिमात्र यसको नम्बर आउछ। अब भैरहवा र पोखराले कति यात्रु बोक्छन्।त्यसपछिको हाम्रो ग्याप कति हो। निजगढमा साँच्चिकै विमानस्थल आवस्यक हो? प्रश्न यहाँबाट सुरु गर्नुपर्छ। अर्कोतिर इआइए रिपोर्ट नै गलत छ । गलत कामबाट सुरु भएको कुनै पनि आयोजना सही हुनसक्दैन। त्यसैले विनासकारी विकासका बिरुद्धमा सबैलाई सुसुचित गरेन आवस्यक छ' उनले भने।
कार्यक्रममा सहभागीहरुले सरकारले काठ तस्करहरको जञ्जालमा फसेर विमानस्थलको लगानी तथा अन्य तयारी सुरु नहुँदै रुख काट्नमात्र हतार गर्नुले शंका उत्पन्न भएको बताएका थिए।