मारूती सिमेन्टले उपभोक्तालाई भ्रम छर्ने विज्ञापन गरेको आरोप लागेको छ।
सिमेन्टले आफूले एनएस क्वालिटी अवार्ड पाएको भन्दै विज्ञापन गरेपछि उपभोक्ताकर्मीहरूले नेपाल गुणस्तर तथा नापतौल विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेका छन्।
‘आफूले नपाएको अवार्ड पाएको भन्दै मारूतीले विज्ञापन गरेको छ। यो उपभोक्ता संरक्षण ऐन विपरित हो’, उपभोक्ताकर्मी माधव तिमल्सिनाले भने, ‘यसले उपभोक्तामा भ्रम सिर्जना गरेको छ।’
गलत प्रचार गरेकोमा सिमेन्टलाई स्पष्टीकरण माग गरिएको नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले बताए।
मारूती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड पाएको आधार प्रमाण सहित विभागमा आउन निर्देशन दिएको वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए।
नापतौल विभागले कात्तिक २८ गते आयोजना गरेको एनएस क्वालिटी अवार्ड, २०१९ मा प्रथम हुनेलाई एनएस क्वालिटी अवार्ड, दोस्रो र तेस्रो हुनेलाई ‘लेटर अफ एप्रिसियसन’ अवार्ड दिएको थियो।
प्रथम हुनेमा शिवम्, दोस्रो र तेस्रो स्थान हासिल गर्नेमा मारूती र जगदम्बा सिमेन्ट थिए।