ठूला व्यवसायी तथा उद्योगीले साना व्यवसायीलाई करको भार नथोपर्न आग्रह गरेका छन्। आठौं राष्ट्रिय कर दिवसको अवसरमा उद्योगीले करको भार नबढाउन आग्रह गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेर सरकारले साना व्यवसायीलाई त्रसित बनाएको बताए।
साना व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुल नगर्न उनले सरकारसँग आग्रह गरे। वरिष्ठ उपाध्यक्ष गोल्छाले करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा भने सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गरे। सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको उनको गुनासो छ।
अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाएपनि त्यो व्यवसायमैंत्री हुनुपर्ने पनि बताए।