वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ। काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन्।
अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्।
विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीबाहेक सबै विमानस्थल बन्द भएका छन्।
लगातारको ठूलो वर्षाका कारण भिजिबिलिटी कमजोर भएको छ। कतिपय विमानस्थलका धावनमार्गमा पानी जम्न थालेको छ।
पूर्वनिर्धारित उडानका लागि भन्दै विमानस्थल पुगेका यात्रुहरु लामो समयदेखि पर्खाइमा रहेका छन्।