यातायात व्यवस्था विभागले टुटल, पठाओलेबाट सञ्चालित मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउने प्रस्ताव गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पेश गरेको प्रस्तावमा राइड सेयर गर्ने टुटल, पठाओद्वारा सञ्चालित मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउन सकिने उल्लेख छ।
टुटल तथा पठाओले दिइरहेको सेवा गैरकानुनी रहेको भन्दै यसलाई कानुनबमोजिम सञ्चालन गर्न दिन कालो नम्बर प्लेट बनाउन सकिने कार्ययोजना विभागको छ।
करको दायराभित्र ल्याउन, बीमाको व्यवस्था गर्न, भाडा निर्धारण गर्न पनि विभागले सुझाव दिएको हो।
‘नीतिगतरूपमा टुटल र पठाओलाई व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्रालयमा सुझाव पठाएको हुँ,’ महानिर्देशक दाहालले सेतोपाटीसँग भने, ‘यस्ता सेवा चाहिन्छ भने गैरकानुनी हुने गरी सञ्चालन गर्न दिन हुँदैन। कानुनअनुसार चलाउनुपर्छ।’
यस्ता मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउनुपर्छ भनेर कानुन संशोधनका लागि भने कुनै प्रस्ताव पेश नभएको मन्त्रालयका सचिव देवेन्द्र कार्मीले जानकारी दिए।
राइड सेयर गर्ने मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउन नहुने टुटलका सञ्चालक शिक्षित भट्ट बताउँछन्।
‘यो त घर भाडामा दिन छुट्टै घर नै बनाउनुपर्छ भनेजस्तो भयो,’ उनले भने, ‘यस्तो नियम कार्यान्वयनमा आए काठमाडौंमा झन् मोटरसाइकल संख्या वृद्धि हुन्छ।’
भएका स्रोतसाधनलाई उच्चतम प्रयोग गर्न खोजेको भन्दै भट्टले नयाँ मोटरसाइकल थप भएमा यातायात सञ्चालनमा थप समस्या हुने औंल्याएका छन्।