जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अन्तिम स्वीकृति नपठाउँदा काठमाडौंको नागढुगादेखि धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निमार्णको काम अगाडि बढ्न सकेको छैन ।
जाइकाको अन्तिम स्वीकृति आएपछि निमार्ण कम्पनी सँगको ठेक्का सम्झौता गर्ने गरि कुरेर बसेको सडक विभागले स्वीकृति नआउँदा काम अगाडी बढाउन नसकेको हो ।
‘जाइकाले आयोजना स्वीकृतिको लागि बढीमा १० काम गर्ने दिन लगाउथ्यो,’ आयोजना प्रमुख श्यामप्रसाद खरेलले भने, ‘गत आर्थिक वर्षमानै ठेक्का सम्झौता हुने अपेक्षा गरेका थियौ तर, आज (बुधबार) १५ काम गर्ने दिन हुदाँ पनि कुनै प्रतिकृया नआउदा अचम्म लागेको छ ।’
उनले ढिलाईको विषयमा जाइकासँग बुझ्न खोज्दा संपर्क हुन नसकेको बताए ।
जाइकाकै आर्थिक सहयोगमा आयोजना निमार्ण गर्न लागिएकोले हुनाले काम अगाडि बढाउन सडक विभागले जाइकाको अन्तिम स्वीकृति कुरेको हो । जाइकाले उक्त सुरुङमार्ग निमार्णको लागि १६ अर्ब ऋण सहयोग सम्झौता भइसकेको छ ।
सडक विभागले ५ महिना अघिनै ग्लोबल टेन्डर आह्वान गरेर ठेक्का दिने कम्पनी छनौट गरिसकेको थियो । उक्त कम्पनीको मूल्याङकनका आधारमानै आयोजनाले ऋण दाता जाइकालाई स्वीकृतिको लागि फाइल पठाएको थियो ।
जाइका आफैले त्यसको मूल्याङकन गर्ने भने होइन । ‘उसले मूल्याङकनको लागि तेस्रो पाटीलाई दिन्छ, त्यसले काम नसक्दा कम ढिला भएको हुनसक्छ,’ खरेलले भने ।
विभागले जापानी कम्पनीलाईनै १५ अर्बमा ठेक्का दिने तयारी गरिरहेको छ । ठेक्का हुनुपुर्व जाइकाको स्वीकृति चाहिने हुनाले विभागले कुरीरहेको हो । आयोजना निमार्णको अन्तिम लागत भने ठेक्का सम्झौता पछि मात्रै थाहाँ हुने बताइएको छ ।
आयोजना प्रमुख खरेलले अगिल्लो हप्तानै स्वीकृति आएर असार मसान्त भित्रै ठेक्का सम्झौता गर्ने अपेक्षा गरेको बताए । तर, स्वीकृति ढिलो हुदाँ कामनै अन्यौलमा परेको छ ।