दाङको तुलसीपुर-घोराहीलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको चरम अभाव सृजना भएको छ।
मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायीको हडतालका कारण दाङमा आवश्यकता अनुसार इन्धन भित्रन नसकेको हो।
ट्यांकर व्यवासायीले पानी पर्दा चिसोले तापक्रम अत्यधिक नाश हुने हुँदा विलिङ नेपालगञ्जमा नभएर दाङको तुलसीपुरमै हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्। नेपालगञ्जमा विलिङ हुँदा आफूहरूलाई घाटा हुने भएको हुँदा इन्धन ल्याउन जान नसकेको एक जना ट्यांकर चालकले बताए।
तुलसीपुरमै इन्धन डिपो रहेको हुँदा विलिङ पनि दाङमै हुनुपर्ने उनले माग गरे। यही माग राखेर व्यवसायीले वर्षौंदेखि पटक/ पटक हडताल गर्दै आएका छन्। त्यही भएर जिल्लाको तुलसीपुर,घोराही,पश्चिम दाङ, सल्यान र रोल्पा तथा रुकुम जिल्लामा समेत इन्धनको चरम अभाव हुने गरेको छ।
जिल्लाको लमही,भालुवाङ बजारमा क्षेत्रमा भने तेलको अभाव छैन। त्यहाँ छुट्टै समितिले तेल ढुवानी गर्दै आएको हुँदा त्यो संकलन नहुने गरेको हो।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख सुजित पोखरेलले व्यवसायीको आन्दोलनका कारण असार २५ गतेदेखि जिल्लामा आवश्यकता अनुरूपको इन्धन आउन नसकेको बताए।
‘टेम्पेचर लस’ को कुरा उठाएर ट्यांकर व्यवसायीले असारको पहिलो साता पनि आमहडताल गरेका थिए। त्यतिबेला पनि पेट्रोलियम पदार्थको चरण अभाव सृजना भएको थियो।
आफ्ना माग पूरा नभएको भन्दै उनीहरू पुनः आन्दोलन थालेको हुँदा जिल्लाका प्रमुख बजारमा इन्धनको चरम अभाचव सृजना भएको प्रमुख पोख्रेलले जानकारी दिए । उनले जिल्लाका तेल विक्रेता व्यवसायीलाई आफैं नेपालगञ्ज गएर इन्धन ल्याउन आग्रह पनि गरेका छन्।
इन्धनको चरम अभाव भएपछि सर्वसाधारणले फेरि नाकाबन्दीको जस्तै समस्या झेल्नु परेको बताएका छन्। बिहान ३ बजे नै उठेर लाइनमा बसेको बताएका केशव चौधरीले बिहान ९ बजेसम्म पनि पालो नआएको जानकारी दिए।
पेट्रोल पम्पहरूमा सीमित मात्रामा इन्धन आउन थालेपछि कालोबजारीयाहरूको भने बिगबिगी बढेको छ।
नेपालगञ्जमा सञ्चालन हुने यातायातका साधनहरूले ड्रममा तेलहरू ल्याएर जिल्लामा ल्याएर महँगोमा बेच्ने गरेका छन्।
प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको छ। कालोबजारीयाहरूको बिगबिगी बढेको भए पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले भने यसबारेमा कुनै चासो दिएका छैनन्।