लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ।
गत वर्ष भरिमा जलाशयमा पानीको सतह १५२६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्ममा १५२६ मीटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५ सय २५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मीटर पुगेको हो।
जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन\चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ।
जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले भने । ‘विगतमा वर्खामा कुलेखानी विद्युतगृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युतको आयातलाई घटाएका छौं।’
कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटरमात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
कुलेखानीमा वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्नमात्रै कुलेखानी चलाइने उनको भनाइ छ।
प्राधिकरणले अहिले ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युतको माग करिब ६ सय मेगावाट मात्रै छ ।
सतर्क रहन आग्रह
प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।
‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने,‘यसोहुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका गेटहर खोलेर पानी बाहिर निकाल्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्छ।’ यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन उनको आग्रह छ।