काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको शुल्क घटाएको छ।
स्मार्ट पार्किङको शुल्क धेरै भयो भनेर सर्वत्र विरोध भएपछि जनभावना अनुरुप शुल्क घटाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए।
‘५ मिनेट मोटरसाइकल पार्किङ गर्दा पनि २५ रुपैयाँ महंगो भयो भन्ने जनगुनासो आयो। हिजोको नगरसभाले शुल्क घटाउने प्रस्ताव पारित गरेको हो,’ डंगोलले सेतोपाटीसगँ भने ‘अब मोटरसाइकल,स्कुटरको हकमा ३० मिनेटसम्म पार्किङ गर्दा १५ रुपैयाँ र ३० मिनेट कटेपछि २५ रुपैयाँ प्रतिघण्टाको दरले लाग्छ। त्यस्तै ४ पांग्रे सवारी साधनको हकमा ३० मिनेटसम्म पार्किङ गर्दा ५० रुपैयाँ र ३० मिनेट कटेपछि ८० रुपैयाँ लाग्छ।’
यो सुविधा सर्वसाधरणकोे लागि भएकोले शुल्क घटाउँदा आफूहरुलाई कुनै गुनासो नभएको ह्विल्स टुली योर्स प्रालिका टेक्निकल कोअडिनेटर अग्रवाल बताउँछन्।
महानगरले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइ पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा गरि ५ ठाउँमा स्मार्ट पार्किङ सुरू गरेको थियो।
सधँै पार्किङको समस्या हुने यो ठाउँमा मोबाइलबाट पार्किङ छ कि छैन हेरेर ठाउँ खाली भए बुक पनि गर्न सक्ने ब्यवस्था छ। बुकिङको लागि त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनी हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्छ। पार्किङ बुकिङ भने १५ मिनेट अगाडिमात्र गर्न सकिनेछ।
पार्किङ खालि छ छैन भनेर जानकारी दिन एलइडी स्त्रिन राखिएको छ। रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्।
यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्नु गर्नुपर्नेछ।