महालेखा परीक्षक टंकमणी शर्माले सरकारले लेखा प्रणाली चुस्तु दुरुस्त बनाउनुपर्नेमा जोड दिएका छन्। बुधबार काठमाडौंमा सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै शर्माले बेरुजुजति अनियमितता हो भन्ने भ्रमण चिर्नका लागि पनि एक वर्षभित्रै सबै हिसाब मिलान गर्नुपर्नेमा जोड दिए।
'यही वर्ष पनि ६ खर्ब भ्रष्टाचार भयो भनियो, त्यो एकै वर्षको अनियमितता हो जस्तो गरी प्रचार भयो, वर्षौं देखि थुप्रिएर रहेको बेरुजु फर्स्यौट गर्नेतिर मन्त्रालय,विभागहरुले नेतृत्व लिनुपर्छ' उनले भने,' यसमा बेरुजु जति भ्रष्टाचार हो भन्ने कुरा छ, त्यसमा कति मिलाउनुपर्ने हुन्छ, पैसा नै असुल गर्ने त थोरैमात्र हुन्छ यो कुरा फैलनबाट रोक्नलाइ पनि सरकारी निकायले लेखा चुस्त राख्नुपर्छ।'
उनले लेखा परीक्षण पद्धति परिवर्तन गर्न लागिएको पनि जानकारी गराए।
नयाँ प्रणालीबाट जाँदा जोखिम देखिएका ठाउँमा मात्र परीक्षण गरिने र यसबाट फर्स्यौट गर्न पनि सजिलो हुने उनको विश्वास छ। सचिव र विभागीय नेतृत्वले हस्ताक्षर गरेपछि आफूहरुले त्यसमा परीक्षण नगर्ने प्रतिबद्धता जनाए।
शर्मा लगत्तै बोलेका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले भने शर्मालाई लक्षित गर्दै आफै पत्रकार सम्मलेन गरेर यति उति बेरुजु भयो भनेर भ्रम छर्ने काम गरेको आरोप लगाए।
'उहाँ आफै पत्रकार सम्मलेन गरेर यति खर्बको बेरुजु भनेर भन्नुहुन्छ, त्यसमा कति नियमित हो,कति अनियमित हो, असुल गर्नुपर्ने ,कागज मिलाउनुपर्ने कति हो, कति पुरानो नयाँ कति हो भन्ने केही भन्नुहुन्छ' उनले भने,' उहाँहरुको यही प्रचारले हामीलाई वर्षभरी कार्यकर्तालाई अरबौ बजेट बाँढेको भ्रम सिर्जना हुन्छ।'\