संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेको छ।
समितिको मंगलबार बसेको बैठकमा वन विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गरिएको हो। छलफलमा भाग लिँदै वन विज्ञ डा. कृष्णचन्द्र पौडेलले वन क्षेत्रमा वन विनाश हुने गरी उद्योग स्थापना गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिए। उनले वन क्षेत्रमा उद्योग स्थापना भए वन तथा वातावरण दुवै विनाश हुनेतर्फ पनि सरकार र संघीय संसदलाई सचेत गराए।
वातावरणविद् कृष्ण ज्ञवालीले विकास र वातावरणलाई सन्तुलित ढंगले अघि बढाउने गरी वन सम्बन्धि कानुनी व्यवस्था गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। वन क्षेत्रमा हुने पूर्वाधार विकासको कामले समेत वातावरणमा प्रतिकूल असर परिरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी कानूनी व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ।
वन विज्ञहरुले वनको व्यवस्थापन गर्दा त्यहाँको पशुपंक्षी तथा जीवहरुको सुरक्षामा पनि विशेष ध्यान दिन सरकारलाई सचेत गराएका छन।