देशभित्रको ढुवानी सहज हुने भएको छ। राजस्व अनुसन्धान विभागले चेकपोष्ट हटाएर अनलाइन ट्रयाकिङ सिस्टम ल्याएसँगै भौतिक पोष्ट हट्ने भएका हुन्। विभागले असार १ देखि परीक्षणाका रुपमा लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम साउन १ गतेदेखि अनिवार्य रुपमा लागू हुने छ।
राजस्व चुहवाटलाई नियन्त्रण गरी वैध व्यापारलाई सहज बनाउन यो सिस्टम ल्याइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। यसबाट चुहावटको सम्भावना न्यून हुने उनको दावी छ।
यो प्रणाली लागू भएपछि ढुवानी गर्नेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा अनलाइन इन्ट्री गर्नुपर्ने छ। सिस्टमबाट जेनेरेट भएको कोडकै आधारमा प्रत्येक विन्दुमा क्लियर हुने छ। यसबाट एकातिर व्यवसायीलाई प्रत्येक पोष्टमा कागजपत्र देखाउनुपर्ने झन्जट हट्ने छ भने अर्कोतिर प्रत्येक ढुवानीको प्रत्यक्ष निगरानी।
विभागको वेबसाइटमा रहेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम पोर्टलमा गएर व्यवसायीले दर्ता गर्नसक्ने छन्। त्यसबाट उनले आफ्ने सामानको सबै विवरण राख्नुपर्ने छ।
'यसबाट नेपाभित्र ओसारपसार हुने प्रत्येक सामानको वास्तविक विरण विभागसँग हुने छ,यहाँ छल्ने र ढाँट्ने ठाउँ कतै पनि हुने छैन' मैनालीले भने।