आगामी असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस संचालन हुने भएको छ। यातायात व्यवस्था विभागले बिहिबार १२ यातायात कम्पनीहरुसँग छलफल गरेर राति ११ बजेसम्म बस संचालन गर्ने निर्णय गरेको प्रवक्ता तिर्थराज खनालले जानकारी दिए।
उपत्यकामा राति ९ बजेपछि रात्रिकालीन बस चढ्नेले दिउँसोको भन्दा केही बढी भाडा तिर्नुपर्नेछ। ‘दिउँसो चल्ने सार्वजनिक बसको तुलनामा रात्रिकालीनको भाडा केही बढी हुन्छ’ खनालले भने।
रात्रिकालीन भाडा करिब ५० प्रतिशत बढी हुने विभागले जनाएको छ। साझा यातायात र रिद्धी सिद्धी यातायातले सबैभन्दा धेरै ३/३ रुटमा सेवा दिनेछन्।
यस्तो छ रुट-
१ साझा यातायात
लगनखेल–न्यूरोड–कलंकी
लगनखेल–न्यूरोड– एयरपोर्ट–चावहिल
लगनखेल–न्यूरोड– नारायण गोपाल चोक– नयाँ बसपार्क
२ महानगर यातायात
नयाँ बसपार्क सेन्टर पारेर चक्रपथमा
३ रिद्धिसिद्धि यातायात
रत्नपार्क–थानकोट
रत्नपार्क– मुलपानी
रत्नपार्क–सानागाउँ
४ शुभकामना यातायात
कलंकी–बालकोट
५ रचना यातायात
स्वयम्भुबाट चक्रपथ परिक्रमा गरी मूलपानी
६ मयुर यातायात
कलंकी- रिङरोड (दायाँबायाँ)- धुलिखेल
७ अन्नपुर्ण सार्वजनिक यातायात
स्वयम्भु–बालाजु–बबरमहल–कोटेश्वर–सातदोबाटो –कलंकी
८ गोकर्णेश्वर यातायात
रत्नपार्क-चावहिल- साखु
९ ललितपुर मिनिबस यातायात
रत्नपार्क –सातदोबाटो–गोदावरी
१० तारकेश्वर यातायात
सुन्धारा–बालाजु–नेपालटार–साङला
११ बुढानिलकण्ठ यातायात
रत्नपार्क–नारायणथान
१२ कीर्तिपुर यातायात
रत्नपार्क–कीर्तिपुर
यसअघि काठमाडौं महानगरपालिकाले २०६९ भदौमा रात्रि बस सेवा सञ्चालन गरेको थियो। एक वर्ष नपुग्दै रात्रि बस संचालन बन्द हुन गयो। महानगरले केही रकम विनियोजन गरी बस संचालन गरेको थियो। रात्रि बसमा यात्रु नहुने र महानगरले थप रकम विनियोजन गर्न नसक्ने भएपछि सेवा बन्द भएको हो।
त्यसपछि २०७४ फागुनमा साझा यातायातले समेत केही दिन रात्रिकालीन बस संचालन गरेको थियो। तर रात्रिकालीन बसको भाडा केही बढी हुनुपर्ने र सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै साझाले सो सेवा पनि बन्द गर्यो।