रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ।
औद्योगिक क्षेत्रको रुपमा तीब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो। भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र ९सेज०मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३र११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ।
योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘योगीकुटी सबस्टेसनबाट ४÷५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौँ’, कार्यकारी निर्देशक घिसिङले भने।
योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने छन्।
३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति गर्न सकिनेछ।
घिसिङका अनुसार भैरहवा सेज परिसर भित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत दिन सकिने छ। परिसरभित्र ३३र११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत दिने बताइएको छ। सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डर प्रक्रियामा छ। धकधई सबस्टेसनबाट सेजसम्म करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा संचालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो।
आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३ को असोजमा ठेक्का सम्झौता भएको थियो। केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए।
बझाङको बाघथला सबस्टेसन संचालन
सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन निर्माण गरिएको बाघथला सबस्टेसन संचालनमा आएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको ३३÷११ केभी सबस्टेसन सोमबारबाट संचालन ९चार्ज०मा ल्याइएको हो।
सबस्टेसनबाट बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर, थलारा तथा दुर्गाथली गाउँपालिकाका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिए।
उनले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताए। सबस्टेसन निर्माणका लागि २०७४ को वैशाखमा ५ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सुर्खेतको बबियाचौर सबस्स्टेसनको निर्माण सम्पन्न
सुर्खेतको ग्रमिण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३र११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ। सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए।
वीरेन्द्रनगरबाट बबियाचौरसम्मको करिव ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ। लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायतका कारणले समस्या छ। यसले गर्दा निर्माण प्रभावित भएको सिंहले बताए।
उनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधानका लागि पहल भइरहेको र निर्माणमा कुनै अवरोध नभएमा तीन महिनाभित्रमा बबियाचौरमा विद्युत् पुर्याउन सकिने बताए ।
त्यसपछि सबस्टेसन चार्ज गरी संचालनमा आउने छ । सबस्टेसन निर्माणका लागि २०७२मा ठेक्का सम्झौता भएको थियो। सबस्टेसनबाट विद्युत वितरणका लागि टेण्डर भइसकेको सिंहले बताए।