तुलसीपुर उपमहानगरपालिकाले अबदेखि जन्मने हरेक छोरीलाई मासिक रूपमा भत्ता प्रदान गर्ने भएको छ।
२० वर्ष नपुग्दासम्म महिनामा एक सयको दरले प्रोत्साहन रकम उपलब्ध गराउने नीति तुलसीपुरले ल्याएको हो।
अबदेखि जन्मेका हरेक छोरीको बैंक खातामा मासिक एक सय रुपैयाँ जम्मा गर्ने गरी नगरले नीति पारित गरेको छ। ती बालिकालाई २० वर्षपछि एकमुष्ट रूपमा उक्त रकम प्रदान गरिने भएको छ। उपमहानगरपालिकाले ‘स्मार्ट छोरी बिहेवारी बीस पारी’ अभियान सञ्चालन गरेको छ।
किशोरीहरूको बिहे बिस पारी होस् भन्ने उद्धेश्यले यो कार्यक्रम ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए। तर २० वर्ष नपुग्दै बिहे गरेको खण्डमा भने उक्त रकम उपमहानगरपालिकाकै खातामा फिर्ता हुने व्यवस्था मिलाइएको मेयर पाण्डेले बताए।
त्यस्तै, नीति तथा कार्यक्रममा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पर्यटकीय र धार्मिक स्थलमा घुमाउन लैजाने कार्यक्रम समावेश गरिएको छ।
जीवनको उत्तर्राद्धमा अपहेलित भएर बाँच्नु नपरोस् र इच्छा लागेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा इच्छा अनुसार जेष्ठ नागरिक घुमेर रमाउन पाउन् भन्ने उद्धेश्यका साथ यो नीति अगाडि सारिएको मेयर पाण्डेले बताए।
त्यस्तै उपमहानगरपालिकाले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा एक वर्षभित्रमा ६० किलोमिटर बाटो कालोपत्रे गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि सडक तथा पूर्वाधार विकास प्राधिकरण गठन गरिने मेयर पाण्डेले बताए।
यस्तै, तुलसीपुरमा व्यवस्थित स:शुल्क पार्किङ निर्माण गरिने छ। रात्रिकालीन बजार सञ्चालन गर्ने, ठेला तथा नाङ्लो पसललाई निश्चित ठाउँमा व्यवस्थापन गर्ने र भू-उपयोग नीति ल्याएर जमिनको खण्डिकरण रोक्नेलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ।
युवा, बालबालिका,दलित जनजाति लगायतका समस्या समाधानका लागि जनसंसद सञ्चालन गरिने उल्लेख गरिएको छ। उज्यालो तुलसीपुर अभियानमार्फत् सहरी क्षेत्रमा सडक बत्ती जडान गरिनुका साथै हरेक ठाउँमा कम्तीमा आठ मिटरसम्मको बाटो निर्माण गरिने छ।
कृषि क्षेत्रको विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रममार्फत् उपमहानगरपालिकाभित्रका किसानलाई व्यवसायिक कृषितर्फ उन्मुख गराउनुका साथै कुनै पनि जमिन बाँझो राख्न नपाइने नीतिलाई निरन्तरता दिएको छ। दुर्गम क्षेत्रमा पशुशिविर सञ्चालनका साथै वधिया भाले बनाउने थारुहरूको सीपको वौद्धिक सम्पत्तिको संरक्षणलाई ध्यान दिइने छ।
थारुजातिमा रहेको महतवा प्रथालाई कानुनी मान्यता दिनका लागि पहल गरिनुका साथै हरेक टोलमा योग केन्द्र स्थापना गरिने छ। उपमहानगरपालिकालाई पेपरलेस बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिने र वडामा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउनका लागि अप्टिकल फाइबर विछ्याइने छ।
किशोर किशोरीहरूलाई पूर्ण स्वास्थ्यको जगको रूपमा स्थापित गर्न प्रत्येक स्कुलमा हेल्थ क्लब गठन गरिनुका साथै स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य एवम् मानसिक स्वास्थ्य, बाल विवाह जस्ता पक्षलाई सम्बोधन गर्न स्वास्थ्य संस्थामार्फत् समन्वय गरिने छ।
कार्यक्रमले हरेक वडाहरूमा क्रमिक रूपमा ‘वडाध्यक्ष बाटिका’ स्थापना गरी सामुदायिक व्यायामशालासहितका रिक्रेसन केन्द्र स्थापना गर्ने, गह्रा सुधार गरेर सामूहिक खेतीलाई प्राथमिकतामा राखिने छ।
दलित र महिलाहरूले दर्ता तथा सञ्चालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिशत छुट दिने, ग्रामीण वडामा ठूला खाले व्यवसाय सञ्चालनलाई प्रवर्द्धन गर्नका लागि ५० प्रतिशत व्यवसाय करमा छुट दिने व्यवस्था गरिएको छ।
हरेक वडामा वडाध्यक्ष गौरव कार्यक्रम सञ्चालनका साथै योजना बैंक स्थापना गरेर योजनाको सम्झौता वैशाख मसान्त र भुक्तानीका लागि जेठ मसान्तलाई अन्तिम समय तोकी कार्य गरिने छ।