विश्व बैंकले चालु वर्ष नेपालको आर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ।
प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र द्रुत गतिमा बढिरहेको बताएको छ।
४.१ प्रतिशतको मूल्यवृध्दि हुने अनुमान गरेको बैंकले कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि उच्च वृध्दिदर कायमै हुने बैंकको प्रक्षेपण छ।
पर्यटक आगमनमा भएको व्यापक वृद्धि , निजी लगानीमा भएको विस्तार तथा बिजुली आपूर्ति सहज जस्ता कारणले अर्थतन्त्रले लय समातेको ठहर बैंकले गरेको छ।
चालु वर्ष पनि नेपालको निर्यात व्यापार सुधार नभएकाले व्यापार घाटा फराकिलो बन्दै गएपनि आयातमा उपभोग्य वस्तुको तुलनामा औद्धोगिक आयात बढेकाले सकारात्मक गतिमा अर्थतन्त्र बढेको बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन इजमेनारीले बताइन्।
आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक वस्तुको आयात बढ्दा यसको लाभ अर्थतन्त्रलाई पुगेको उनको भनाइ छ।
सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने बैंकको ठहर छ। वित्तिय घाटा अघिल्लो वर्षको तुलनामा न्यून हुने छ।
कमजोर निर्यात, अप्रतिस्पर्धी बजार तथा श्रम सहभागितामा लैंगिक असमानता नेपाली अर्थतन्त्रका कोखिम भएको बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले बताए।
यद्यपी नेपाललाई थुप्रै अवसर भएको र केवल त्यसलाई समयमै पहिचान गरी उपयोग गर्नुपर्ने आवस्यकता रहेको उनको भनाइ छ।