नेपाल विद्युत प्राधिकरणले सबस्टेसनहरुको काम धमाधम अघि बढाएको छ।
प्राधिकरणले सोमबार मात्र तीन सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ। सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो। सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रमा विद्युत आपूर्ति सुधार गर्न क्रमश: बोदेबर्साईन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो।
त्यस्तै बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ। प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेसन निर्माण सुरु गरेको थियो।
सबस्टेसन संचालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याएका छौं’, घिसिङले भने, ‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौँ।’
नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैक (एडीबी)को सहुलियतपूर्ण ऋणमा विभिन्न क्षेत्रमा सबस्टेसको निर्माण भइरहेको छ। एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ। यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन्।
चालु आर्थिक वर्षको बाँकी अवधिमा कुनै अवरोध नभएमा ५ वटा सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए।
‘सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाएको समस्या झेल्दै आएका रहेछन्, समस्या समाधान हुने भएपछि खुसियाली मनाउन स्थानीय सबस्टेसनमै आए’ ढकालले भने।
नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता लभान्वित हुने छन्। सबस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंहले बताए।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ।