माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ऋण थपिँदै गएको छ। ४५६ मेगावाट क्षमताको आयोजना निर्माण समयावधि लम्बिँदै जाँदा व्याजसहितको व्ययभार बढ्दै गएको हो।
सुरूमा तामाकोसी बनाउन ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। त्यसमा ब्याज जोडिएको थिएन।
आयोजनाले कर्मचारी संचय कोषबाट १० अर्ब, टेलिकमबाट ६, नागरिक लगानी कोषबाट २ र बीमा संस्थानबाट २ गरी २० अर्ब ऋण जुटाएको थियो।
त्योबाहेक ११ अर्ब ८ करोड सरकारको (विद्युत प्राधिकरणमार्फत) गरी कुल ३१ अर्ब ८ करोड ऋण जुटेको थियो। १० अर्ब ५९ करोड रुपैयाँको सेयर जारी गरी ४१ अर्ब ६७ करोड रुपैयाँ लगानी भइसकेको छ।
सो रकमले नपुगेपछि आयोजनाले नविल बैंकबाट २, विद्युत प्राधिकरणबाट १ र संचय कोषबाट १ अर्ब ऋण थपेको छ। कोषले अर्को १ अर्ब ऋण दिँदैछ। आयोजनाका वित्तीय व्यवस्थापन अधिकृत सुरेश खकुरेलले छोटो अवधिका लागि यो ऋण लिइएको जानकारी दिए।
कर्मचारी संचय कोष, नागरिक कोष, टेलिकम तथा बीमा संस्थानबाटै थप दीर्घकालीन ऋण लिने आयोजनाको तयारी छ। ‘त्यताबाट लामो अवधिको ऋण लिएपछि छोटो अवधिको चुक्ता गर्ने वा समायोजन गर्ने योजना हो’ उनले भने।
थप ऋण दिनका लागि सबै पक्ष सकारात्मक छन्। यसअघि १२ प्रतिशत व्याजमा लिएको ऋण अब केही घटाउनेगरी छलफल चलिरहेको उनले बताए।
सरकारबाट २ अर्ब र पुराना ऋणीहरुबाट ८ अर्ब थप्ने आयोजनाको तयारी छ। यो १० अर्ब रकममा यसअघिको ४१ अर्ब ६७ करोड रुपैयाँ जोड्दा लागत करिब ५२ अर्ब पुग्छ। ‘निर्माण सकिँदासम्म व्याजवापत २१ अर्बजति थपिने अनुमान छ’ खकुरेलले भने।
तोकिएको समयमा आयोजना सम्पन्न भएमा व्याजसहितको लागत ७३ अर्ब नाघ्नेछ। २०१९ को डिसेम्बरसम्ममा आयोजनाको काम सम्पन्न हुने लक्ष्य लिइएको छ। ‘डिसेम्बरसम्ममा काम सकाउने लक्ष्य हो, कथम कदाचित २-३ महिना पछाडि धकेलिन सक्छ’ आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने। समयमै नसकिएमा आयोजनाको लागत व्याजका कारण अझै महँगो पर्न सक्नेछ।
भूकम्प तथा नाकाबन्दीका कारण निर्माण कार्य लम्बिँदा लागत महँगो पर्न गएको आयोजनाले जनाएको छ। आयोजनाको ‘पेनस्टक’गर्ने पूर्ण जिम्मा पाएको भारतीय टेक्स मेको रेल्वे इन्जिनियरिङ कम्पनीको जिम्मा एन्ड्रिज हाइड्रोमा सरेको छ। एन्ड्रिज कम्पनीको अनुभव राम्रो रहेकाले जिम्मा माथिल्लो भागमा पेनस्टक गर्ने जिम्मा दिइएको खकुरेलले बताए।
त्यस्तै नेपाली मुद्रा डलरसँग अवमूल्यन हुँदा पनि लागतमा असर परेको हो। ‘करिब ८ अर्ब त डलरसँगको अबमूल्यन हुँदा नै लागत थपियो’ उनले भने ‘अवधि लम्बिँदा १३ अर्ब अनुमान गरिएको व्याज पनि २१ अर्ब पुग्ने देखियो।’