राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारको दोस्रो बजेट राजनीतिक अंकगणितको सिकार भएको प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै वाग्लेले यो सरकार अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा पनि सबैको चित्त बुझाउनेतिर गएको बताए।
‘पञ्चवर्षीय बजेटको दोस्रो किस्ता आउनुपर्नेमा राजनीतिक अंकगणितको सिकार भयो। उहाँहरुले जोखिम लिन सक्नुभएन,’ वाग्लेले सेतोपाटीसँग भने।
अर्थतन्त्रको नयाँ आधार बनाएर पूर्वाधार निर्माण तथा स्थिरताको बाटोमा लिनुपर्ने दायित्व बोकेको शक्तिशाली सरकार लोकप्रियताको गोलचक्करमा फसेको उनले बताए।
नेतृत्वमा बस्नेहरु एक वर्ष पनि अडानमा टिक्न नसक्दा बजेट भद्रगोल भएर आएको उनले बताए। कर्मचारी, सांसद, सामाजिक सुरक्षा लाभग्राही रिझाउनमै सरकारी बजेट केन्द्रित भएर आएको उनको भनाइ छ।
सरकारको अल्पकालीन लोकप्रियताका कारण राज्यले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए।
‘राष्ट्रले ठूलो मूल्य चुकाउनेछ। यति शक्तिसम्पन्न सरकारले ठूलै जोखिम लिनुपर्ने थियो। तर अब त उठाएको जति राजस्व चालु खर्चमा जाने भयो। चालु खर्चबाट २४ अर्बमात्र बच्ने भयो। विकासका लागि ऋण र सहयोग नै लिनुपर्ने देखिएको छ। यसरी विकास र समृद्धि कसरी हुन्छ,’ वाग्लेले भने, ‘यो वर्षको अनुभव हेर्दा ऋणको लक्ष्य घटाइएको छ। ३ खर्ब उठाउने भनिएको छ। पुँजीगत खर्च पनि बढाइएको छ। यसको विश्वासनीय आधार देखिएको छैन।’