काठमाडौं महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ।
१५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजु, कलंकी, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ।
हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए।
कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र सहरी विभागबाट एक/एक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो ।
समितिले ल्याएको अनुगमन प्रतिवेदनका आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया सुरू गरिने छ।
विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने उनले बताए।
प्रतिवेदनका आधारमा स्थानान्तरण गर्न सकिनेलाई स्थानान्तरण गर्ने र नमिल्नेलाई थप व्यवस्थापनको सम्बन्ध भएका निकायलाई आग्रह गरिने उनले जानकारी दिए।
पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि महानगरले अध्ययन थालेको हो।
सडकको धेरै नजिक, सवारी साधनमा तेल भरिराख्दा सर्वसाधारणलाई आवागमनमा समस्या देखिएका तथा बस्तीको हिसाबले अत्यन्तै नजिक रहेका पम्प मानवीय जोखिमका मानिन्छन्।
मानवीय हिसाबले जोखिम मानिने पम्प धेरै रहेको भन्ने जनगुनासो आएपछि अनुगमन गरिएको हो। हाल कामपामा कूल ७५ पम्प छन्।