प्रधानमन्त्री केपी शर्मा ओलीले साबेल चलाएर धादिङको गल्छीस्थित मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरेका छन्।
उक्त कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरूआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए।
‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।’
उनले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताए।
‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्याउँछ। तीनमा छ भने चारमा पुर्याउँछ।’
प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए।
‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबभन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताए।
सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘हामी केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं’, प्रधानमन्त्री ओलीले भने।