खाद्यको स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजनमा जेठभर खाद्य स्वच्छता दिवस मनाइने भएको छ। यो एघारौं खाद्य स्वच्छता दिवस हो।
संयुक्त राष्ट्र संघीय महासभाबाट सन् २०१९ देखि हरेक वर्षको जुन महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउने निर्णय भएको हो।
यसलाई मध्यनजर गर्दै गत वर्षदेखि नै विभागले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर जून ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा मनाउँदै आइएको छ।
यस क्रममा विभागले महिनाभरि नै विभाग परिसर सरसफाइ, घुम्ती खाद्य प्रयोगशाला समेतको प्रयोग गरी सडक किनारामा बिक्री हुने खानेकुरा, होटल रेष्टुरेण्ट, खाद्य व्यवसायहरुको विशेष अनुगमन गर्ने जनाएको छ।
त्यस्तै खाद्य निरीक्षकहरुलाई अभिमुखीकरण, विद्यालय स्तरीय खाद्य स्वच्छता तथा पोषण शिक्षा, प्रसोधित दूध, पिउने पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी व्यवसायीहरुलाई प्रशिक्षण दिइनेछ।
विभाग अन्तर्गतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, जनकपूर, हेटौंडा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा कार्यालय परिसर सरसफाइ, पत्रकार भेटघाट, बकतृत्वकला प्रतियोगिता, विद्यालय शिक्षा, उपभोक्ता भेला, माइकिङ्ग तथा पर्चा पम्पलेट जस्ता सूचनामूलक सामग्री वितरण गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ।
त्यसैगरी विभाग अन्तर्गतका २४ डिभिजन कार्यालयहरुबाट उपभोक्ता भेला, खाद्य पोषण तालिम होटेलररेस्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, वडास्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि तालिम, होमस्टे संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, खाद्य स्वच्छता तथा पोषण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम, होटल स्तरीकरण लोगो वितरण कार्यक्रम , एस।पी।एस। सरोकारवाला अन्तरक्रिया बैठकजस्ता कार्यक्रमहरु सञ्चालन गरिने छन्।
विश्व खाद्य स्वच्छता दिवस ७ जून अर्थात जेठ २४ का दिन “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता”भन्ने नाराका साथ विभिन्न उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेजहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघ संस्थाहरू लगायत पत्रकारहरू समेतको सहकार्य र सहभागितामा प्रभातफेरी कार्यक्रम गर्ने विभागले जनाएको छ।