पछिल्लो सयम निर्माणमा गति लिइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले निरन्तर अवरोध खेप्दै आएको छ। केही समय अघि गिट्टी, बालुवाको मूल्य बढाएपछि गतिरोध उत्पन्न भएको आयोजनाको मुख्य काम ठप्प भएको छ।
विमानस्थल बनाउने जिम्म पाएको चिनियाँ कम्पनी नर्थवेस्टसिभिल एभिएसन कन्सट्रक्सनले पछिल्लो समय धावनमार्ग कालोपत्रे, पेरिमिटर र ट्याक्सी वे कालोपत्रेको काम ठप्प भएको हो।
असार १५ सम्म निर्माण गरिसक्ने लक्ष्य पाएको उक्त ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाउँदा काम रोकिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणको आयोजनाबाट दिने रकम दिएपनि एसियाली विकास बैंकले गर्नुपर्ने भुक्तानीको काम एक महिनादेखि रोकिएपछि ठेकेदार कम्पनीले कामै रोकेको हो।
ठेकेदार कम्पनीले कामदारलाई समेत दिने ज्याला नपाएपछि काम रोक्न बाध्य भएको बताइएको छ।
धावनमार्ग, ट्याक्सवी वे, स्ट्रिप वे, पेरिमिटर, टर्मिनल, टावरजस्ता काम असार १५ मै सक्ने र आउने मंसिरदेखि व्यावसायिक उडान गर्ने सरकारी घोषणा रहेको छ। यद्यपी आयोजनाको काम भने सरकारकै कारण रोकिएको हो।
अब दुई कारणले विमानस्थलको काम रोकिने सम्भावना रहेको छ।
अब धावनमार्ग र ट्याक्सी वे कालोपत्रेको काम १० दिनजतिमा सकिने अनुमान गरिएको छ। यसका लागि ठेकेदार कम्पनीलाई भुक्तानी भने दिनैपर्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण यो रोकिएको छ।
आयोजनामा काम भएपछि ठेकेदार कम्पनीले बिल पेस गर्छ। उक्त बिलमा उल्लेख भएको कामको परामर्शदाताले परीक्षण गर्छ। यसरी परीक्षण गरेपछि बिलमा उल्लेख भएको रकमको ३८ प्रतिशत आयोजनाले नै भुक्तानी दिन्छ। जुन भइसकेको छ। बाँकी ६२ प्रतिशत रकम जुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै एसियाली विकास बैंकमा पुगेर स्वीकृत भएपछि भुक्तानी हुन्छ।
यसरी बिल पेस भएको २८ दिनभित्र भुक्तानी गर्ने गरिएको छ। तर यो पटक ठेकेदारले पठाएको बिल एक महिनादेखि पर्यटन मन्त्रालयमा थन्किएको छ। मन्त्रालयले एडीबीमा पठाएपछि पनि १० दिनजति त्यही लाग्छ।
यसरी हेर्दा आयोजनाको काम अझै दुई हप्ताजति लम्बिने निश्चित भएको छ।
लामो समयदेखि आफै पैसा परिचालन गरी ठेकेदारले काम अघि बढाउनसक्ने अवस्था नभएको आयोजनाका अधिकारीहरुले बताउँदै आएका छन्। दिनमा २० लाख बढीको डिजेलमात्र लाग्ने र लाखौ रुपैयाँ दैनिक नगदको आवस्यकता ठेकेदार कम्पनीलाई हुन्छ। तर यसरी लामो समयदेखि सरकारले भुक्तानीमा सहज नगरिदिंदा कामै रोकिएको हो।
विमानस्थल समयमै सम्पन्न हनुनसक्ने अर्को कारण पनि छ। कालोपत्रेमात्र होइन धावनमार्ग वरीपरी बनाइने स्ट्रिप वेमा माटो, ढुंगा भर्नुपर्ने काम अझै बाँकी रहेको छ। जसका लागि जेठभित्रै नदिबाट माटो, ढुंगा, गिट्टी उत्खनन् गरिसक्नुपर्छ। यसरी नगरेमा असोजसम्म कामै शु्रु हुन्न।
तर नदिजन्न पदार्थ उत्खनन्मा समस्या देखिएको छ।
आयोजनाका लागि नदिजन्य पदार्थ उत्खनन् गर्ने भन्दै सम्झौता गरिएको ठाउँमा बुटुवल उपमहानगरपालिकाले एकैपटक प्रतिघनमिटर ९ रुपैयाँ कर उठाउने निर्णय गरेपछि उक्त काम रोकएिको छ। सरकारी निर्णयबाट सम्झौता गरिएको रकममा एकएक ठूलो रकम बढाएपछि त्यहाँबाट ल्याउन नसकिने भन्दै निर्माण कम्पनीको साहयक कम्पनी पछाडि हटेको छ।
यो समस्याको समाधान नभएमा आयोजनाको काम अब एकैपटक असोजमा शुरु हुने छ जुन अर्को असारमा मात्र सम्पन्न हुने अवस्था आउनसक्छ।
अहिले आयोजनाले भोगिरहेका समस्याका बारेमा नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयलाई जानकारी दिंदै आएको र छिट्टै समस्या समाधान हुनेमा विश्वस्त रहेको आयोजना अधिकारी इन्जिनियर प्रवेश अधिकारीले बताए।