भारतीय वायुसेवाप्रदायक जेट एयरवेजले आफ्ना सबै उडान स्थगित गरेकाे छ। एयरवेजले बुधबार बेलुकीदेखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको बिबिसीले जनाएको छ।
जेटले गत शुक्रबारै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो। २५ वर्ष पुरानो एयरलाइन्स कम्पनी जेटले बुधबार राती भारतीय समय साढे दस बजे अमृतसर-मुम्बई-दिल्लीमा अन्तिम उडान गर्नेछ।
भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको थियो। बिबिसीका अनुसार उसको संकट पछिल्ला चार महिनामा झनै बढेको थियो।
'तत्काल हामीले आर्थिक व्यवस्थापन गर्न नसकेकाले सबै उडान स्थगित गरेका छौं। बुधबार राती जेटको अन्तिम उडान हुनेछ,' एयरलाइन्सले विज्ञप्तिमा भनेको छ।
इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका हुन्।
एक सय बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र ३ सय ८० भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेकाे एयरलाइन्सले पछिल्लो समय १४ वटा जहाज मात्र उडाइरहेकाे थियो। भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० जहाज उड्नुपर्छ।
बिबिसीका अनुसार जेट एयरवेज एक अर्ब डलर ऋणमा छ। कम्पनी आर्थिक व्यवस्थापन गर्न लागि परेको छ।
जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन्। जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ। जेटमा कुल २३ हजार कर्मचारी रहेको बिबिसीमा उल्लेख छ। जेटका एक सय २३ जहाज रहे पनि सबैले उडान भने नगरेको बताइएको छ।
भारतकै ठूलोमध्येको एयरलाइन्स जेटले आफू फेरि फर्कने आशा भने गरेको छ।
'हामी फेरि आकाशमा आफ्ना जहाज उडाउने आशा गर्छौं,' जेटले विज्ञप्तिमा भनेको छ, 'हाम्रो कदमले यात्रुमा परेको असरप्रति हामी क्षमा माग्छौं।'