सोमबार भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छुटेको विष्यमा बुद्ध एयरले प्रष्टीकरण दिएको छ। एक विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो।
‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नंं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो’विज्ञप्तीमा उल्लेख छ,‘काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो।’
यसअघि मन्त्री बाँस्कोटाले भैरहवामा आयोजित कार्यक्रममा आफूलाई छोडेर बुद्ध एयर उडेको बताएका थिए।
काठमाडौंबाट जहाज उड्दाा उक्त उडानमा नआउने घोषणा गरेका मन्त्रीको टोलीले पछि केही समय पर्खिन भने पनि केही समय ढिला हुँदा सबै यात्रु नै रोकिनुपर्ने बाध्यताका कराणले रोक्न नसकिएको एयरलाइन्सको दाबी छ।
‘मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता थियो। त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं। त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो’ एयरलाइन्सले विज्ञप्तिमार्फत् भनेको छ,‘यदि अर्को ३०–३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्थ्यो।’
सुरक्षित र सकभर समयमै उडान भर्नु बुद्ध एयरको पहिलो दायित्व भएकाले व्यवस्थापनको निर्णयअनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ।