विभिन्न मुलुकको लागि भिषा आवेदनमा सहजीकरण गर्दै आएको भिएफएस ग्लोबलले युरोपेली मुलुक चेक गणतन्त्रको भिषा आवेदन सेवा काठमाडौंमा सुरू गरेको छ।
सेवाको शुक्रबार उद्घाटन गरिएको छ। चेक गणतन्त्र जान चाहने नेपालीहरूको आवेदन गत वर्ष २६ प्रतिशतले बढेको उल्लेख गर्दै नेपालीहरूका लागि सहज र भरपर्दो सेवाका लागि उक्त सेवा सुरू गरेको उसले जनाएको छ।
केन्द्रको उद्घाटन भारतका लागि चेक गणतन्त्रका राजदुत मिलान होभोराका तथा चेक रिपब्लिकका सम्मानार्थ कन्सोल विष्णु अग्रवालले गरेका हुन्।
यसअघि चेक गणतन्त्र जान चाहने नेपालीलाई भिषा आवेदनका लागि नयाँ दिल्ली जानुपर्ने बाध्यता थियो। केन्द्रले गरेको यो सेवाको सुरूवातले चेक घूम्न चाहने नेपालीलाई सहज हुनेछ।
उद्घाटनपछि बोल्दै राजदूत मिलान होभोरा यस निर्णयले नेपाली आवेदनगर्तालाई थप सहज बनाउने बताए।
‘चेकको भिषाका लागि नयाँ दिल्ली धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। म आवेदनकर्तालाई भिषाका सबै प्रक्रिया पूरा गरेर सहज र समयमै भिषा लिन आग्रह गर्दछु’, उनले भने।
त्यस्तै कन्सोल अग्रवालले ‘चेकको भिषा सेवालाई काठमाडौं ल्याउनपाउँदा आफूलाई खुशी लागेको बताए।
भिएफएसले संसारका १०० बढि केन्द्रबाट चेक गणतन्त्रका लागि भिषा आवेदन सेवा दिदैं आएको छ।
भीएसएफले आफ्नो नयाँ सेवाको सुरूवातले मध्य युरोप जान चाहने नेपालीका लागि सहज गराउने विश्वास लिएको छ।
चेक गणतन्त्र जोडिएसँगै भिएफएसले भिषा आवेदन सेवा उपलब्ध गराउने मुलुकको संख्या २० पुगेको छ।