ओरियन्टल सहकारीका पीडित बचतकर्तालाई भेगाससिटी अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गरिने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको निर्माणाधीन भेगाससिटी अपार्टमेन्ट लिलाम बिक्री गर्नुपर्ने देखिएको जनाएको छ। यो अपार्टमेन्ट कोहिनुर हिल हाउजिङ कम्पनीको नाममा छ।
यो सुधिर बस्नेत एकल संचालक रहेको कम्पनी हो। ओरेन्टल सहकारीका संचालक समेत रहेका बस्नेतले अपार्टमेन्टको अधुरा कामहरु पुरा गर्ने सहमति गरेका थिए। अपार्टमेन्टको अधुरा कामहरु पुरा गर्ने र बुकिङकर्ताबाट आएको रकमबाट सहकारीका पीडितलाई रकम भुक्तानी गर्नेगरी सहमति भएको थियो।
तर सहमतिअनुसार उनले काम नगरेको समितिले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै गलत रुपमा तयार गरिएको समितिले जनाएको छ। ‘मान्यताप्राप्त इन्जिनियरहरुले डिपिआर तयार गर्नुपर्नेमा बस्नेत आफैले तयार गरेको देखियो’ समितिका एक सदस्यले भने।
अब अपार्टमेन्ट कब्जामा लिई बिक्री गर्नुको विकल्प नभएको समितिको निश्कर्ष छ।
एक विज्ञप्ति जारी गर्दै समितिले सो अपार्टमेन्ट बिक्री गरी आएको रकम पीडितहरुलाई क्रमिक रुपमा भुक्तानी गर्दै जाने प्रतिबद्धता जनाएको छ।
सहकारीले व्याजसहित ८ अर्ब ३८ करोड रुपैयाँ सर्वसाधारणको बचत फिर्ता गर्नुपर्ने दायित्व छ। सबैभन्दा पहिले यो बचत दायित्व चुक्ता गर्नुपर्नेछ। यो रकमका लागि ७ हजार ५४६ बचतकर्ताले दावी गरेका छन्।
भेगाससिटी अपार्टमेन्ट निर्माणका लागि बस्नेतले नबिल र राष्ट्रिय वाणिज्यबाट लिएको ऋणको रकम मंसिर मसान्तसम्म व्याजसहित ९१ करोड पुगेको समितिले जनाएको छ।
त्यस्तै संचयकोषको ऋण तथा व्याज गरी असोजसम्म ५७ करोड ५७ लाख पुगेको छ। अपार्टमेन्ट बुकिङवापत हाउजिङ कम्पनीले १ अर्ब ३७ करोड रकम उठाएको छ।
अपार्टमेन्टको निर्माण भने अधुरो अवस्थामा छ। कतिपयले अपार्टमेन्टको निर्माण पूर्ण गरेर मात्रै बिक्री गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
सरकारले नै निर्माण गरेर बेच्दा मूल्य बढी पर्ने भएकाले सो काममा लाग्नुपर्नेमा कतिपयको राय छ। तर गठित समितिले भने थप दायित्व सिर्जना गर्ने अधिकार नरहेको जनाउँदै आएको छ।
समस्याग्रस्त घोषणा गरिएका सहकारीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी चुक्ता गर्ने अधिकारसहित समिति गठन भएको थियो। ओरेन्टलबाहेक अन्य १० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ। समस्याग्रस्त घोषणा गरिएका अन्य सहकारी धेरैको सम्पत्ति तथा कागजातहरु भेटिएको छैन।